पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन सफल नभए पनि विपक्षी नेताका रुपमा चाहिँ निकै शक्तिशाली पात्र हुन् भन्ने मंगलबार प्रतिनिधिसभामा उनको सवा घण्टा लामो भाषणले फेरि एकचोटि पुष्टि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गराएका छन् ।
देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओलीले त्यसपछि फेरि चुनाव आउने चेतावनी दिए । विपक्षी दलका नेताको हैसियतमा संसदमा मन्तव्य दिन उभिएका ओलीले सत्तारुढ गठबन्धनले अघि सारेको साझा न्यूनतम कार्यक्रमको बुँदा–बुँदा केलाएर धज्जी उडाए ।
एमाले अध्यक्ष ओलीले अमेरिकी सहयोग एमसीसी पारित गरेर देखाउन देउवालाई चुनौती दिए । लाल आयोगको प्रतिवेदन आजै सार्वजनिक गर्न माग गरे । गौर हत्याका दोषीमाथि छानविन गर्न माग गरे । देउवा सरकारकै मन्त्री ललितपुरको गोदावरीमा ढुंगा गिटीको दोहनमा संलग्न रहेको आरोप समेत ओलीले लगाए । भूमि आयोग विघटन गरेर सरकारले गरीब एवं सुकुम्बासीको घाँटी रेटेको ओलीले आरोप लगाए ।
एमालेका केही नेताहरु मन्त्री बनाईपाउँ भन्दै शेरबहादुर देउवाकहाँ धाइरहेको बताउँदै ओलीले तिनीहरुलाई छिटो मन्त्री बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गर्दै आफ्नो भाषण टुंग्याएका थिए ।
एमाले अध्यक्ष ओलीले सत्तापक्षीय गठबन्धनको धज्जी उडाएर भाषण गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले पूरै अवधि धैर्यतापूर्वक विपक्षी नेताको भाषण सुनेका थिए ।
प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गठबन्धन दलको साझा नीति तथा कार्यक्रमाथि गरेको खरो टिप्पणीको सम्पादित अंश यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ :
एक महिनासम्म नाच्दैमा ठिक्क !
लगभग एक महिनाअघि सरकार परिवर्तन भएको छ । सरकार परिवर्तनको विषय लोकतन्त्रमा सामान्य विषय नै हो । तर, असमान्य ढंगले सरकार परिवर्तन भएकैले होला सत्तापक्षीय गठबन्धनका नेताहरु असाध्यै हौसिनु भएको छ । दशैं आएर आँगनमा केटाकेटी नाचेजस्तो गर्दैमा ठीक्क हुनुहुन्छ । सरकार बनेको एक महिनासम्म धन्यवाद र बधाई छ । केका लागि भन्दा केही काम नगरेकोमा ! बधाई र धन्यवाद खुब चल्यो ।
केही नगरेको हैन, केही गरेको पनि छ । सुकुम्बासी आयोग बन्द गरेर भूमीहीनको घाँटी सेर्ने काम पनि भएकै छ । ममाथि निकै प्रहार गरेको देखियो र भैरहेको पनि छ । मलाई त्यसमा चिन्ता छैन । सुखी नेपाली र समृद्ध नेपाल भन्ने उद्देश्य बोकेर त्यस उद्देश्यलाई प्राप्त गर्न, त्यस उद्देश्यतर्फको यात्रामा हिँडेको, नेपाली जनतालाई सुखी बनाउने, समृद्ध बनाउने यात्रामा हिँडेको मान्छेलाई यस्ता सानातिना गालीगलौजहरुले खासै फरक पर्दैन । म आफ्नो उद्देश्यमा केन्द्रित छु ।
मैले के–के गरें ?
मैले नेतृत्व गरेको पार्टीका नीति, योजना र लक्षहरु त्यसैअनुसार तय गर्दै तदअनुसारकै व्यवहार र प्रयास मेरो नेतृत्वको सरकारले ग¥यो । सुखी नेपाली समृद्ध नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्नका लागि बहुतै उदारमनाका साथ फराकिलो मनोभावनाका साथ, लचिलोपनका साथ ।
चुनावी तालमेल कुनै अपवित्र ढंगले गरिएको हैन । पार्टी एकता कुनै अपवित्र ढंगले गरिएको हैन । राम्रो उद्देश्यका साथ गरिएको हो । त्यसरी नै प्रतिपक्ष दलसँग पनि सम्वाद र अभ्यास गरिएको र सहकार्य गर्ने नीतिका साथ काम गरिएको हो । सरकारको गन्तव्य स्पष्ट थियो, गन्तव्यमा पुग्ने बाटो स्पष्ट थियो । तिनको कार्यान्वयमा दृढता र कार्यान्वयमा, राज्य सञ्चालन गर्दा अपनाउनुपर्ने संयम र अनुशासनमा सरकारको नेतृत्व गरिरहेको म सजग थिएँ र तदअनुसार नै काम गरेको थिएँ ।
संविधानबमोजिम नै राज्य सञ्चालन हुनुपर्छ र कानुनीराजको दृढ अवलम्बन हुनुपर्छ । पूर्वाग्रह, प्रतिशोध र संयमहिनता र पक्षधरता जस्ता शासकीय दुर्गुणहरुबाट आफूलाई राख्नुपर्छ भन्ने मान्यतामा म सधैं स्पष्ट दृढ रहेर तदअनुसार काम गरेको हुँ ।
उपयुक्त व्यक्तिको उपयुक्त नियुक्ति, पदस्थापन, स्वच्छ र पारदर्शी प्रक्रियाबाट गर्ने, राज्य सञ्चालनका नशाबाट नातावाद र कृपावादको छायाँसम्म नपर्ने मेरा नीति रहे । मैले आफूमात्र हैन, मसँग सहयात्रा गरेका साथीहरुलाई पनि ती नीतिमा अडिग रहन र अवलम्वन गर्न जोड दिएँ ।
त्यसले, कसैको लाभ र इच्छामा धक्का अवश्य पुग्यो । केही ईच्छाहरुमा मेरा नीतिहरुले जो मैले गलत कुराहरुसँग सम्झौता गरिन्, त्यसले तुषारापात पनि भयो होला । तत्काल अपेक्षा पूरा भएनन् होला । मेरा कामले हासिल हुँदै गएका लोकप्रियताले छाती जलाएर असाध्यै पीडा पनि भयो होला । त्यो आजकलको अभिब्यक्तिमा पनि देखिन्छ । म भष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ भन्ने कुराले धेरै ठूलो असजिलो पनि पैदा भयो होला । यस्ता कुराहरुले मेरो पार्टीभित्रै समस्या पैदा भयो, दुनियाँलाई थाहा छ । यसमा धेरै समय नलिउँ, के के भयो, कसरी आयो थाहा भएकै विषय हो ।
म प्रधानमन्त्री हुन जन्मिएको हैन
सभामुख महोदय, म एउटा कुरा दोहो¥याउन चाहन्छु । यस देश र यो देशका जनताको सेवाका लागि जन्मिएको जस्तो ठान्छु । म प्रधानमन्त्री हुन जन्मिएको हैन । काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ । ६४ बर्षको उमेरसम्म त म प्रधानमन्त्री थिइनँ । भइयो, फेरि अर्को पटक पनि ।
जालझेल तिकडम, गठबन्धनको संस्कृति, त्यतिबेला हटाएको थियो । मैले त्यसबेला भनेको थिएँ, म झ्यालबाट हैन, मूलढोकाबाट आउनेछु । सुनिराख्नुभए हुन्छ फेरि पनि असाधारण बहुमतका साथ फेरि पनि मूलबाटो, मूलढोकाबाट फेरि पनि प्रवेश गर्नेछु ।
मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको हैन । मेरो काम हेरेर, नेपाली जनताले मत दिएर प्रधामन्त्री बनाएको हो । म विभिन्न पार्टीका नेताहरुका महत्वकांक्षा, इष्र्या, कुण्ठा, जलन अहंकार, आदिको समिश्रणबाट प्रधानमन्त्री बनेको पनि हैन् । विभिन्न स्वार्थहरुको प्राप्तिको प्रयासको संग्रह गठजोडको प्रयासबाटपनि प्रधानमन्त्री बनेको हैन । त्यस्ता विभिन्न असफलताहरुको फ्रिक्सनबाट उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको पनि हैन ।
सभामुख महोदय, म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको थिइनँ र म परामादेशबाट पनि भएको थिइनँ, जनादेशबाट भएको थिएँ । प्रधानमन्त्री पदमा विश्वास गर्छु, दाईजो, दातब्य, जजमानीबाट प्राप्त भएको हैन ।
मैले पाएको प्रधानमन्त्री नेपाली जनताले मैले प्रकट गरेको विश्वास हो र ममाथि विश्वास गरेर सुम्पिएको जिम्मेवारी हो । अपवित्र, अनुचित, असान्दर्भिक, अलोकतान्त्रिक, असंबैधानिक गठबन्धनबाट त्यो जिम्मेवारी खोसिएको छ । राजनीतिमा कहिले–कहिले यस्तो हुँदोरहेछ ।
दुनियाँमा अदालतबाट प्रधानमन्त्री तोकिने नयाँ नजिर स्थापित भएको छ विश्वमा पहिलो रेकर्ड । छ भने जानकारी दिए हुन्छ । मेरो जानकारीमा अहिलेसम्म कतै यस्तो भएको छैन । म सत्तापक्षका माननीयज्यूहरुलाई एउटा प्रश्न गर्न चाहन्छु– अदालतलाई धेरै विवादमा ल्याइरहन जरुरत छैन ।
तपाईहरु जसरी अदालतलाई विवादमा ल्याउन खोजिरहनुभएको छ, अदालतले जे ग¥यो, त्यसको समीक्षा होला, त्यसको मूल्याङ्कन होला, त्यसको वाक्य वाक्य र शब्द–शब्दको इतिहासले मूल्याङ्कन गर्ने नै छ । कोही पनि इतिहासको खरो मूल्याङ्कनबाट उम्किन सक्दैन ।
कहिलेकाँही मान्छेले आफू मर्छु भन्ने कुरापनि बिर्सन्छ र असाध्यै दम्भ पनि देखाउँछ । कहिलेकाँही मान्छेले सधैं म यही संसदमा रहिरहने हैन भन्ने कुरा पनि बिर्सन्छ र दम्भ देखाँउछ । म त्यसो गरिरहन आवश्यक ठान्दिनँ ।