Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

धन्यवाद सरकार ! सबै जिल्लामा पुग्याे पाठ्यपुस्तक

काठमाडौँ, १४ बैशाख । इतिहासमा पहिलोपटक शैक्षिकसत्र शुरू हुँदा सबै जिल्लामा सरकारले पाठ्यपुस्तक पुर्याउन सफल भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको हाे। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ।

केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५ हजार थान पुस्तक वितरण भएको छ। त्यस्तै बुटवल कार्यालयबाट १४ लाख २५ हजार, पोखरा कार्यालयबाट ११ लाख ७४ हजार पाँच सय, नेपालगञ्ज कार्यालयबाट १५ लाख ४४ हजार, सुर्खेत कार्यालयबाट आठ लाख १६ हजार चार सय, धनगढी कार्यालयबाट १८ लाख ९० हजार तथा भक्तपुरको सानोमिठीस्थित केन्द्रीय कार्यालयबाट १८ लाख ९६ हजार चार सय थान पाठ्यपुस्तक वितरण भएको छ।

बाँकी केही पाठ्यपुस्तक केन्द्रमै जगेडा राखिएको छ भने केही वितरणकै क्रममा छ। केन्द्रको क्षेत्रीय कार्यालयबाट वितरण भइरहेका पुस्तक सम्बन्धित जिल्लाका स्थानीय विक्रेतामार्फत विद्यालयमा पु-याउने काम भइरहेको छ।

यो पनि पढनुस !!

यस वर्ष केन्द्र समयमै पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न सक्षम भएका कारण झन्डै एक दशकपछि सामुदायिक विद्यालयका विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका छन्। सरकारले वैशाख ३ गतेदेखि नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान पनि सुरु गरेको थियो। अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ।

मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय विक्रेता तोकेको छ। केन्द्रले पुस्तक विक्रेतालाई कमिसनबापत नौ प्रतिशत र ढुवानीका लागि पुस्तकको मूल्यको अधिकतम ६८ प्रतिशतसम्म रकम दिने गरेको छ।

केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा समयमै कागज खरिद, कर्मचारीको सही परिचालन तथा केन्द्र परिसरमा रहेका सबै छपाइ मेसिनको प्रयोग गर्नु मुख्य उपलब्धि भएको बताउनुभयो। केन्द्रले गत वर्ष कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छापेको थियो। साथै त्यति बेला कागज खरिद प्रक्रिया लम्बिएका कारण पाठ्यपुस्तक छपाइमा समस्या हुने गरेको थियो। जसको असर विद्यार्थीको पढाइमा पुग्दथ्यो। यस पटक कागज खरिदमा सरकारले सहजीकरण गरिदिएको र जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको जिम्मा पनि कक्षा ६ देखि १० सम्मका लागि मात्रै दिएकाले सहज भएको केन्द्रले जनाएको छ।

“आउने दिनमा पनि यस्तै अवस्था रह्यो भने अहिले निजी मुद्रण संस्थालाई छाप्न दिएको पुस्तक पनि हामी नै छाप्छौँ। जसबाट केन्द्रको आम्दानी पनि वृद्धि हुनेछ,” केन्द्रका प्रबन्ध सञ्चालक झाले भन्नुभयो। उहाँले यस पटक पुस्तक छाप्ने कागज खरिदका लागि केन्द्रले विभिन्न बैङ्कबाट ८५ करोड रुपियाँ ऋण लिएको र उक्त ऋणमध्ये ४० करोडभन्दा बढी पाठ्यपुस्तक छापेर आएको आम्दानीबाट तिरिसकेको जानकारी दिनुभयो।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी मुद्रण संस्थाले पनि सम्पूर्ण पुस्तक छापेर वितरण गरिसकिएको जनाएको छ। यी पाठ्यपुस्तक छपाइका लागि १३ वटा मुद्रण संस्था छानिएका खबर गाेरखापत्रमा छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.