Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

काठमाडौँ, २७ चैत। नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामाकरण गर्न सरकार समक्ष माग गरेको हो ।

१५ बुँदे चखेवा घोषणापत्र जारी गरेको प्रेस सेन्टर नेपाल प्रदेश समितिले श्रमजीमी पत्रकार ऐन कार्यान्वयन गर्न, सञ्चार विरोधी ऐन खारेज गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई अनिवार्य उपलब्ध गराउन, लोक कल्याणकारी विज्ञापनको शुल्क समयानुसार वृद्धि गर्न, द्वन्द्व पीडित, अशक्त, अपाङ्ग पत्रकार र उनीहरुको परिवारलाई उपचार र रोजगारसँगै राहत तथा क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन प्रदेश सरकार समक्ष माग गरेको छ । कोशी प्रदेशभित्र सञ्चालनमा रहेका स्वरोजगारमुखी सञ्चार माध्यमलाई आत्मनिर्भर बनाउन, प्रदेश र पालिका तहमा पत्रकार सुरक्षा कोष स्थापना गरेर सञ्चालनमा ल्याउन, पर्यटकीयस्थल चखेवा भञ्ज्याङको दीगो पर्यटन प्रवद्र्धनका लागि योजनासहित बजेट विनियोजन गर्न साधारणसभामार्फत तीनवटै तहका सरकार समक्ष माग गरिएको प्रदेश अध्यक्ष विनोदप्रभात घिमिरेले जानकारी दिए ।

यो पनि पढनुस !!

साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले आफूहरुले पहिचानको विषय सुरुदेखि उठाएको र आगामी दिनमा पनि पहिचानकै पक्षमा रहने जानकारी दिए । “हाम्रो मातृ पार्टी नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छाडेको छैन । कोही पनि भ्रममा नपर्नुहोला”, उनले भने, “विचार र भिजनको हिसाबले प्रेस सेन्टर नेपाल देशकै ठूलो सङ्गठन हो । देशमा पहिचानको विषय प्रेस सेन्टर नेपालले मात्र स्थापित गराउन सक्छ । तपाईहरु अडिग भएर पहिचानको पक्षमा कलम चलाउनुहोस् । यो सम्भव छ । कोही पनि भ्रमको पछाडि नलाग्नुहोला !”

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.