काठमाडौं, २१ चैत । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अन्ततः घुम्दैफिर्दै फेरि विद्युत् प्राधिकरणको बहुमत सेयर स्वामित्व हुने गरी अगाडि बढाउने तयारी गरिएको छ।
सेयर संरचनालगायतका विषयमा अन्तिम टुंगाे लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। कार्यदलले दिने प्रतिवेदनका आधारमा सेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ।
प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार आयोजना अगाडि बढाउन सेयर संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिए।
सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको स्वागतार्थ प्राधिकरणमा आयोजित कार्यक्रममा ऊर्जासचिव घिमिरेले प्राधिकरणको बहुमत सेयर स्वामित्व रहने गरी कम्पनीमा पुनर्संरचना गर्न लागिएको बताएका थिए।