काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठले मिटरब्याज पीडितरहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अनामनगरस्थित मिटरब्याजपीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
त्यसक्रममा श्रेष्ठले यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको बताए । ‘पहिला कार्यान्वयन नभएकाले या समस्या भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान लागेका हौँ, अब कार्यान्वयन हुन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनेर यसले लिने न्यूनतम समयमै कार्यान्वयनमा लान्छौँ ।’
यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याजपीडितहरू आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् ।
बर्दीबासबाट ११ दिन हिँडेर काठमाडौं आएपुगेका मिटरब्याजपीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य उपचारको लागि पहल लिएका थिए । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजपीडितहरू बिरामी परेका थिए ।
सोहीकारण उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पहल लिनुभएको हो ।
जसअनुसार उपप्रधानमन्त्री श्रेष्ठको पहलमा स्वास्थ्य मन्त्रालयले मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणलगायतका कार्यहरू गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सकहरूले मिटरब्याजपीडितहरूको स्वस्थ्य अवस्थाबारे जानकारी लिइरहँदा उपप्रधानमन्त्री श्रेष्ठ सोही स्थानमा पुगेका छन् ।
अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजपीडितको स्वास्थ्य परीक्षण र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । ‘उहाँहरूसँग वार्ता भएर सहमति गरेका छौँ । सरकारसँग भएको सहमतिपछि उहाँहरू फर्कने तयारीमा हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उपचार प्रक्रिया के छ भन्ने निरीक्षण गर्न आएको हुँ ।’