काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाएर प्रचण्डले कामकारबाहीको विवरण लिएका हुन् ।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरूको कामकारबाही जानकारी लिने काम सुरु गरेको मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए ।
‘सरकार प्रमुखका रूपमा विभिन मन्त्रालय, निकायहरूले कसरी काम गरिरहेका छन् ? के भइराखेको छ ? हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वभाविक प्रक्रिया नै हो,’ वैरागीले भने, ‘त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरूले आ–आफ्नो मन्त्रालयका इस्यूहरू र आफूले भोग्नु परेका समस्याबारे राख्नुभएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भोलि हुन्छ ।’
त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले यसबारेमा भोलि निर्देशन दिने बैरागीले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोलि आउँछ । हामी छलफलकै क्रममा छौँ । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केही निकायहरू बाँकी छन्,’ मुख्यसचिव वैरागीले भने, ‘भोलि सबैको विवरण लिइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ ।’
सबै मन्त्रालयका सचिवहरूले आजै सबै विवरण भने प्रधानमन्त्रीसमक्ष पेस गरेका छैनन् । मुख्यसचिव वैरागीका अनुसार भोलि पुनः छलफल हुने र प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार सचिवहरूलाई निर्देशन दिनेछन् ।
प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन् । प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।