काठमाडौं, ३ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आइतबार बिहान १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकैको सडक भासिएको हो।
सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडकको बीच भागमा ठूलो खाल्डो परेपछि साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको छ ।
भासिएको ठाँउमा माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।