काठमाडौँ, २७ मंसिर । गाउँपालिका राष्ट्रिय महासङ्घको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूले भागबन्डा टुङ्ग्याएका छन् ।
काठमाडौँमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागबन्डा गरिएको हो ।
स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली काँग्रेसले महासङ्घको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ ।
काँग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ । उपाध्यक्ष भने टुङ्गो लगाए नसकेको काँग्रेस निकट स्रोतले बताएको छ ।
त्यस्तै दोस्रो ठुलो दल नेकपा एमाले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ ।
सदस्यहरूमा दिलकुमारी लावती (इलाम), सुमन मिरिंपचन (मोरङ), उग्र नारायण यादव (सिरहा), रामकुमार आचार्य (धादिङ), सरस्वती चिदी (पाल्पा), सहनशीला ओली (सल्यान) र दुर्गादत्त ओझा (डोटी) रहने भएका छन् ।
कोषाध्यक्ष पाएका नेकपा माओवादी केन्द्रले भने नाम तय गर्न बाँकी रहेको छ ।