जनकपुर, १७ मंसिर । धनुषाको वीरेन्द्रबजारमा पूर्वबाट आउँदै गरेको यात्रुवाहक भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको पिकअप भ्यान ठोक्किँदा ५ जनाको मृत्यु भएको छ।
शनिबार बिहान करिब ५ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुई गाडी ठोक्किएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इटहरीबाट महोत्तरीको पिपरातर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको गाडी र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च १४९६ नम्बरको पिकअप ठोक्किएको थियो।
दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायका अनुसार घटनास्थलमै करिब १२ वर्षको एक जना बालकको मृत्यु भएको थियो भने अरुको उपचारको क्रममा जनकपुर ल्याउने क्रममा मृत्यु भएको छ।
दुर्घटनामा धनुषाको मुखियापट्टी मुसहनिया–४ का २९ वर्षीया रुवी साह, महोत्तरी रामगोपालपुर–७ ससौलकी १७ वर्षीया मञ्जुकुमारी साह, उनकै बहिनी १३ वर्षकी सिर्जना साह र धनुषा धनौजी–४ का २५ वर्षीय अब्दुल मन्सुरीको मृत्यु भएको डीएसपी रायले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मृत्यु भएका एक जनाको सनाखत हुन बाँकी छ।
धनुषा प्रहरीका एसपी बसन्त रजौरेका अनुसार इटहरीबाट वैवाहिक कार्यक्रममा सहभागी हुन महोत्तरीको पिपरातर्फ आउँदै गरेको गाडी र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप ठोक्किएको थियो।