काठमाडाैँ, ३ मंसिर । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ।
आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कममात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहिता उल्लंघन हुनसक्ने बताए।
निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौँडा गौँडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए।
उनले भने, ‘विगतको तुलनामा धेरै कम आचारसंहिता उल्लंघन भएको छ। आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरू लापरबाही गर्नुहुन्छ, त्यो सबैले बुझेका छौँ। अहिले हामी स्थिर अवधिमा छौँ। स्थिर अवधिमा अझै कडाइका साथ लागू गर्नुपर्छ। किनभने यो बेलामा बढीभन्दा बढी आचारसंहिता उल्लंघन हुन्छ भनेर प्रतिनिधिहरूले भनिरहनुभएको छ। आयोग यो समयावधिमा गौँडागौँडामा बसेर हेरिरहेको छ। उहाँहरू बर्दीमा नहुनुहोला तर गौँडागौँडामा बसेर निगरानी गरिरहनुभएको छ। तर बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्नुहोला।’
निर्वाचन आयुक्त भण्डारीले आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने दावी गरे।
उहाँले भन्नुभयो, ‘आयोगप्रति हेर्ने दृष्टिकोण दुईवटा छ। कडाइ गर्याे, आयोग निर्मम भयो भन्ने छ। नरम गर्याे, आयोगले आचारसंहिता कार्यान्वयन गर्न खुट्टा कमायो भन्ने गरिन्छ। त्यसैले विगतको निर्वाचनको विषयलाई विश्लेषण गरेर हेर्दा पनि हामीले आचारसंहिता वास्तवमा अलिकति कडाइ गरेर नै लागू गर्नुपर्छ नत्र कार्यान्वयन हुँदैन भन्ने आयाेगको ठहर रह्यो। आचारसंहिता सबैले पालना गर्नुपर्छ। चाहे एक रुपैयाँ होस् या चाहे लाख रुपैयाँ होस्, कोही पनि दण्डको भागी हुन्छ। उसलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। अहिले हामीले फरक ढंगले सबैले देख्नेगरी कडाइकासाथ आचारसंहिता कार्यान्वयन गरेको हाैँ।’
निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरूलाई आयोगले कानुनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे।
मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनको लागि भने नयाँ कानुको निर्माण गर्न अपरिहार्य रहेको उनकाे भनाइ छ।
उनले मतदाता शिक्षा प्रभावकारी बनाउने कुरामा निर्वाचन आयोगले लोभ नगरेको पनि बताए।