Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

नदीमा एक सय गोही छोड्ने तयारी

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस आर्थिक वर्षमा गोही नदीमा छाड्ने तयारी गरिएको छ । प्रजनन केन्द्रमा हाल ८५० गोही छन् । हुर्किएका चार÷पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको सङ्ख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १०० हाराहारी गोही छोड्ने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्ने विषयमा छलफल भइरहेको छ । पछिल्ला वर्षमा राप्ती नदीमा मात्र गोही छाडिदै आएको छ । हालसम्म विभिन्न नदीमा एक हजार ५८५ गोही छाडिसकिएको छ ।

यो पनि पढनुस !!

राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कमला र बबई नदीमा गोही छोड्ने गरिन्छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।

नेपालका नदीमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदी प्रदूषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हुर्किएका ती र प्रजनन केन्द्रमा पारेका अण्डाबाट कोरलेका गोही नदीमा छाड्ने गरिन्छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.