Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।

कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिनुभयो । कार्यालयले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा १३३ दशमलव ५२ प्रतिशतले हुन आउने उहाँले बताउनुभयो । कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा असुली गरेको छ ।

प्रथम चौमासिकमा अन्तःशुल्क शीर्षकमा रु पाँच अर्ब ५६ करोड ५२ लाख ४८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु सात अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको अधिकारीले बताउनुभयो । त्यस्तै कार्यालयलले आयकर शीर्षकमा रु १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा रु नौ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा रु एक करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा रु एक करोड आठ लाख ७० हजार, घरबहाल कर शीर्षकमा रु ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा रु ६३ हजार राजस्व सङ्कलन गरेको छ ।

यो पनि पढनुस !!

कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुनालमा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्तःशुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ । त्यसैगरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेको अधिकारीले बताउनुभयो । कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत मात्रै प्रगति हासिल गरेको अधिकारीले बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.