Nepal Jana Khabar
हरेक जनताको खबर
१० बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन्

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका हुन् । जिल्लामा महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोर मुख्य प्रवेश नाका रहँदै आएका छन् ।

जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवकै मुखमा भारतका विभिन्न ठाउँमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएपछि पूर्वसजगताका लागि ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको मटिहानी नगरपालिकाले जनाएको छ । नाकामा नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका अगुवा सम्मिलित दुईवटा टोली परिचालित गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । अतिआवश्यक स्वास्थ्य सामग्री थर्मलगन, मास्क, सेनिटाइजर लिएर बसेका टोलीले नेपाल प्रवेश गर्नेको प्रारम्भिक स्वास्थ्य जाँच गरेर अनिवार्य मास्क लगाउने प्रबन्धसाथ प्रवेशको व्यवस्था मिलाएको छ ।

यो पनि पढनुस !!

महोत्सवमा स्वास्थ्य सजगता अपनाउन मटिहानीका मुख्य नाका, मठमन्दिर, बजार र रामजानकी सडक (मटिहानी–जनकपुर सडक) क्षेत्रमा स्वास्थ्य सजगता अपिल गरिएका ‘होर्डिङबोर्ड’ राखिएका छन् । भारतबाट आउने र यहीँकै स्थानीयवासीमा पनि नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध सचेतताका लागि यो प्रयत्न थालिएको नगरप्रमुख मण्डलको भनाइ छ । यसैगरी भिठ्ठामोर प्रवेश नाकामा पनि जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सम्मिलित टोली परिचालित गरिएका छन् ।

महोत्सवमा अयोध्याबाट आउने जन्तीको प्रवेश नाका मटिहानी र भिठ्ठामोर हुने गरेको छ । विगत वर्षमा महोत्सवमा भारततर्फबाट निकै भीड पस्ने गरे पनि गत वर्ष महाव्याधि छल्न नाका बन्द नै रहेको र यसपालि पनि सो असर पूर्ण नियन्त्रण नभइसकेको हुँदा प्रवेश गर्नेको सङ्ख्या घटेको देखिँदो छ । महोत्सवको मुख्य दिन विवाहपञ्चमीको एक दिनपूर्व भारतीय श्रद्धालु नेपाल प्रवेश गर्ने पुरानो परम्परा छ । यसअनुसार भोलिको पञ्चमीका लागि भारतीय साधुसन्त र सर्वसाधारण आज नेपाल प्रवेश गर्नेछन् । नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचसहित प्रारम्भिक आकष्मिक उपचारलाई पनि मध्यनजर गर्दै औषधिको व्यवस्था पनि मिलाइएको मटिहानी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.