Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको क्षति

गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ

गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ ।

बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका कारण १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको छ ।

सबैभन्दा बढी धानखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार धानखेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । “लामो समयसम्म पानी पर्दा खेतमा काटेर राखिएको धानमा समेत क्षति पुग्यो”, उहाँले भन्नुभयो, “पूरै धान उम्रिएर कामै नलाग्ने भएपछि किसान बिचल्लीमा परेका छन ।”

केन्द्रका अनुसार किसानले महँगोमा खरिद गरिएको आलुबाली रोपेर सकेका मात्रै थिए । त्यसै बेला आएको निरन्तरको पानीले पूरै खेतबारी डुवानमा पार्दा आलुबालीमा निकै ठूलो क्षति पुग्यो । रोपेका आलुका दाना सबै कुहिएपछि उम्रन पाएनन् । आलु बालीमा रु ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको छ । आलुखेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको छ ।

यो पनि पढनुस !!

तरकारी बालीमा रु ५८ लाख ६४ हजारको क्षति पुगेको छ । तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्नका लागि तयार हुँदै गरेका बेला परेको पानीले तरकारीखेती लगाउने दुई हजार ६५० हेक्टरमध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अधिकृत मल्ले बताउनुभयो । उहाँका अनुसार तोरीबाली उम्रने क्रममै रहेका बेला परेको पानीले रु दुई करोड ६२ लाखको क्षति भएको छ । खेती हुने आठ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको छ ।

निरन्तरको पानीसँगै आएको हावाहुरीले केराका बोट ढाल्दा किसानलाई निकै ठूलो क्षति भएको छ । केराखेतीमा रु दुई करोड ७७ लाख २० हजार बराबरको क्षति पुगेको छ । केराखेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको केन्द्रले जनाएको छ । त्यस्तै हावाहुरीले उखुका बोट ढल्दा रु एक करोड ५७ लाख ५० हजारको क्षति भएको छ । उखुखेती हुने पाँच हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ ।

क्षतिको विवरण कृषि ज्ञान केन्द्रका कर्मचारीले फिल्ड अनुगमन गरी र स्थानीय तहका कृषि शाखाका प्रमुख, कृषि प्राविधिक, किसानसँग सम्पर्क गरी सङ्कलन गरिएको हो । बालीनालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिनका लागि स्थानीय तहले स्थलगत रुपमा कर्मचारी र जनप्रतिनिधिको टोली खटाइ क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै फाराम भर्ने कार्य गरेका छन् ।

स्थानीय तहले क्षतिको विवरण फर्मेट अनुसार भरेर आएपछि कम्पाईल गरी एकमुष्ट रुपमा सम्बन्धित निकायमा क्षतिपूर्तिका लागि पठाइने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.