Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ

कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।

कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती व्यहोर्नुपरेको थियो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपालीहरु धेरै ठाउँमा ठगिने गरेका थिए ।

यो पनि पढनुस !!

बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।

मैत्री बस सञ्चालन भएपछि भारतका विभिन्न सहरमा यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर मिलेको उहाँको भनाइ छ । रोकिएको मैत्री बससेवा सुरु भएपछि भारतबाट फर्किने नेपालीहरू सीधा नेपालगञ्ज आउने भएकाले यहाँका होटल तथा व्यापार व्यवसायमा समेत प्रत्यक्षरूपमा फाइदा पुग्ने उहाँले बताउनुभयो ।

नेपालगञ्जबाट भारतको लखनऊ स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो सङ्ख्यामा नेपाली नागरिक जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनऊबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दिल्लीका लागि नेपालगञ्जबाट साँझ ५ बजे र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे तथा देहरादुन र हरिद्वारका लागि नेपालगञ्जबाट राति ८ बजे बस छुट्ने गरेका छन् ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.