Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

फूलबाट मनग्य आम्दानी

नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन्

नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।

तिहार सुरु हुन दुई÷तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्तीमा पसेका छन् । घरआँगन परिसरमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । “यो आँगनको फूलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”, भङ्गाहा नगरपालिका–४ रामनगरकाका रसिया चौधरी थारूले भन्नुभयो, “अहिले व्यापारी आफैँ घर आएर ३०÷३५ बोटको फूललाई ‘एक हजार दिन्छु’ भन्दै बैना (अग्रिम पेश्की) थमाएर गएका छन् । तिहारताका फुल्ने फूलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उहाँको भनाइ छ । यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उहाँ बताउनुहुन्छ ।

महोत्तरीका ग्रामीण बस्तीमा अहिले चौधरीजस्तै थुप्रै गृहिणीले घरआँगनको फूलबाट अतिरिक्त आम्दानी पाएका छन् । बस्ती–बस्ती पसेका फूल व्यापारीले हातहातमै पैसा थमाइदिएपछि फूल पनि आम्दानीको स्रोत रहेछ भन्ने चेत खुलेको यहाँका सर्वसाधारण गृहिणीको भनाइ छ ।

बर्दिबास–६ का रेवती पोखरेलले भन्नुभयो “हैन, राम्रै रकम पाइँदोरहेछ, अब त तिहारताका फुल्ने गरी फूलका बोट बढाएर रोप्न पर्ला । शनिबार आँगन वरिपरिको लगभग ५० बोटका फूलवापत रु एक हजार ५०० रकम पाए ।”

तिहारअघि फूलको खोजीमा बस्ती–बस्ती पसेका व्यापारीले सर्वसाधारण गृहिणीको मन फूलखेती गर्नतिर खिचेका छन् । गतवर्ष नै यस्तो आम्दानी हात पारेका गृहिणीले त घरआँगन वरपर यसपालि फूलका बोट बढाएर लगाएको जानकारी दिए । यसपालि यस्तो आम्दानी हात पारेका गृहिणीले आघौँ (आउने वर्ष) खेती नै जस्तो गरी फूल बढाउने अठोट गरेका छन् ।

“फूल त व्यावसायिकरूपमै खेती गरे हुने भएछ, घरघरै व्यापारी आउँदा रहेछन्”, भङ्गाहा–५ राजपुरका हरिप्रिया महतो भन्नुहुन्छ, “घर प्रयोजनकै पानीबाट अलि बढाएर फूलखेती गर्न सकिने रहेछ ।” उहाँका छरछिमेकका गृहिणीले पनि अब फूल अलि बढाएर लगाउने र अतिरिक्त आम्दानी गर्ने सोच बनाएका छन् ।

यो पनि पढनुस !!

“तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रहेछ”, भङगाहा –४ का लक्ष्मी श्रेष्ठले भन्नुभयो, “यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक जना व्यापारीले रु दुई हजार दिन्छु भनेर बैना दिएर गए ।” आर्जनका लागि नभई शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अबचाहिँ तिहारलक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको उहाँको भनाइ छ ।

घर करेसा वरपर शोभाका लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी रु दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०–३५ वटा जति बोटका सयपत्री फूल लाँदा रु दुई हजार आम्दानी भएको बर्दिवास–६ कृष्णपुरकी गृहिणी सम्झना काफ्ले बताउनुहुन्छ । करेसाकै फूलका बोटबाट सम्झनाले गरेको आम्दानी देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूलखेती गर्ने निर्णय गरेका छन् ।

अहिले तिहार लागेसँगै फूल खोज्ने ग्राहक जिल्लाको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूलखेती गर्न आफ्नो गाउँटोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिबास–१२ की गृहिणी उमा महतो जानकारीदिनुभयो ।

जिल्लामा फूलको व्यावसायिक खेती नभए पनि अब यस्को सम्भावना बढेको कृषिविज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्ष्य गरी यसको व्यावसायिक खेती सुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्रका जलेश्वरका कृषिविज्ञ बताउँछन् । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउको माग गरे बीउबिजन उपलब्ध गराउन सकिने केन्द्रका प्रमुख रामचन्द्र यादवले जानकारी दिनुभयो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ पालिकामध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा व्यावसायिकरूपमै फूलखेती गरेका छन् । त्यहाँका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै फूल लाने गरेका जनाइका छन् । यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीका रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न सहरमा पुग्ने गरेको किसान, व्यापारी र कृषिविज्ञले बताएका छन् ।

पछिल्लोपटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको ज्ञान केन्द्रले जनाएको छ ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.