Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

तरकारी बेचेरै लाखौँ आम्दानी

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिनुभएको छ

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिनुभएको छ ।

काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थाल्नुभएको हो । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उहाँले कमाइ गर्नुभएको छ । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ ।

उहाँले आफ्नो जमिनबाहेक मासिक रु छ हजार भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिनुभएको छ । त्यही भाडाको बारीले सात वर्षदेखि उहाँलाई लखपति बनाएको छ । उहाँको आशिष कृषि फार्ममा वर्षभरि नै ताजा तरकारी पाइन्छ । उहाँले लामो समयदेखि निरन्तर खेतीमै जोड दिनुभएको छ । एक वर्षमात्र हैन, पछिल्लो सात वर्षदेखि उहाँले नियमित कमाइ गर्न सक्नुभएको हो ।

यो पनि पढनुस !!

उहाँले भन्नुभयो, “कृषिको हाकिमभन्दा मेरो कमाइ बढी छ ।” तालिम दिने हाकिमले मासिक तलब खाने गरेको तर आफ्नो दैनिक कमाइ भइरहेको उहाँले बताउनुभयो । दश वर्षअघिसम्म खान लाउने समस्याले पुनले ज्याला मजदुरी गर्नुहुन्थ्यो । चार छोरी पाल्ने उहाँको चुनौती तरकारी खेतीले पूरा गरिदिएको हो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उहाँले भाडाको जमिनमा खेती गर्ने योजना बुन्नुभएको थियो । त्यो अभियानले अहिले उहाँ अगुवा र कर्मठ किसानमा गनिनुहुन्छ । उहाँको बारीमा के हिउँद, के वर्षात् निरन्तर तरकारी लटरम्म हुन्छ ।

उहाँको बारीमा हिउँदमा लटरम्म फल्ने केराउ, काउली र मोटरकोसा, बर्षात्मा खुर्सानी, गोलभेडालगायत तरकारी लगाएर यो सफलता पाइएको छ । “सिजनअनुसार फल्ने तरकारी पनि लगाएकी छु, बेमौसमी तरकारी प्लाष्टिकको घरमा लगाउँछु”, उहाँले भन्नुभयो, “महिलाले केही गर्न सक्दैनन् भन्थे, आँट गरेर सफल भएकी छु ।”

धेरै वर्षसम्म सिक्किम लोकल जातको केराउ लगाएर कमाएको र अहिले सबैखाले खेती थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “टनेलभित्र गोलभेडा मात्रै गर्ने चलन तोडेर खुर्सानी लगाएर पनि लाख कमाउन सकेँ ।” अहिले पनि उहाँका टनेलमा गोलभेडा, प्याज, रायो साग, अकबरे खुर्सानी, मुसुरो दाल, काउली बन्दा जस्ता उत्पादन लटरम्म फलेका छन् । लेखानी गाउँसहित बागलुङ बजारमा पनि नियमित तरकारी बेच्ने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.