Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

देवीस्थानमा पर्यटक चुच्चे ढुङ्गामा सेल्फीदेखि घोडचडी र पिङको मज्जा लिन पाइने

पहिला खाली रहेको धुलिखेल नगरपालिका– ९ देवीस्थानको नाङ्गो डाँडामा अहिले घोडचडीका साथै पिङको मज्जा लिने पर्यकटकको घुइँचो बढ्न थालेको छ

पहिला खाली रहेको धुलिखेल नगरपालिका– ९ देवीस्थानको नाङ्गो डाँडामा अहिले घोडचडीका साथै पिङको मज्जा लिने पर्यकटकको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेलको देवीस्थानमा मनोरञ्जका साथै आनन्द लिनका लागि पुग्ने गरेका पर्यटकले अब चुच्चे ढुङ्गामा चढेर सेल्फी लिनाका साथै पिङ खेल्नसमेत पाएका हुन् ।

चुच्चे ढुङ्गा रेष्टुरेन्ट एण्ड पार्कमा पर्यटकको थप मनोरञ्जनका लागि पिङ राखिएको सञ्चालक सिर्जना थापाले बताउनुभयो । चुच्चे ढुङ्गा चढेको प्रतिव्यक्ति १० रुपैयाँ र पिङ खेलेको १५० रुपैयाँ लिने गरिएको उहाँले जानकारी दिनुुभयो । “पहिला चुच्चे ढुङ्गामा चढेर मनोरञ्जन लिने मात्रै गरिन्थ्यो, अहिले नजिकै रहेको उतापट्टी खाली ठाउँमा पिङ हालिएको छ भनेसँगै सेल्फी खिच्ने ठाउँ र सानो पार्क बनाउने क्रममा छु”, उहाँले भन्नुभयो, “पिङ राखेर सुरु गरेको दुई हप्ता मात्रै भएकाले अरु संरचना निर्माणको चरणमै छ ।”

केही दिन अगाडि मात्रै सुरु गरिएकाले अहिले पिङ खेल्नेको मात्रै घुइँचो बढिरहेको र पार्क सबै निर्माण भइनसकेकाले आउनेलाई पूर्ण सुविधा दिन नसकिएको सञ्चालक थापाले बताउनुभयो । सात रोपनी पाँच आना जग्गा भाडामा लिएर सञ्चालन गरिएको व्यवसायका लागि ती सबै संरचना निर्माण भइसक्दा रू नौ लाख लागत पुग्ने जनाइएको छ ।

त्यसरी व्यवसाय सञ्चालन गरेबापत महिनाको रु ५० हजार तिर्नुपर्छ । स्थानीय बासिन्दा सुरेन्द्र माकजुको जग्गामा सो व्यवसाय सञ्चालन गरिएको हो । पिङ राखेदेखि आम्दानी राम्रो भइरहेको सञ्चालक थापाले बताउनुभयो । “पहिला त भाडा तिर्न मात्रै ठिक हुन्थ्यो, अहिले पिङ राखेपछि राम्रो आम्दानी भइरहेको छ”, उहाँले थप्नुभयो, “अहिले दैनिक तीन चार हजारदेखि १० हजारसम्म उठ्ने गरेको छ ।” बिदाको दिन र शनिबार घुम्न आउनेको सङ्ख्या बढ्ने भएकाले ती दिनमा धेरै आम्दानी हुने गरेको छ ।

यो पनि पढनुस !!

यसअघि अर्कैले होटल चलाउने र चुच्चे ढुङ्गामा चढ्ने गरेकालाई टिकट लिने गरेर व्यवसाय सञ्चालन गरेकामा तीन महिना अगाडि थापाले किनेर चलाउन थालेपछि अरु थप मनोरञ्जन स्थलसमेत निर्माण गरेर आम्दानी गर्न थाल्नुभएको हो । धुलिखेल घुम्न आउने पर्यटक जो कोही पनि एकपटक धुलिखेलको हजार सिँढी हुँदै बुद्धको मूर्ति रहेको शान्तिवन पार्क र त्यसमाथिको देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गा, शान्ति पार्क र त्यही डाँडाको पल्लोपट्टी रहेको शहीद भलभद्र कुँवरको शालिक भएको डाँडामा पुग्ने गर्दछन् । वरिपरिको हरियाली वनजङ्गलको माथि अग्लो डाँडामा बसेर स्वच्छ हावामा खेलेर मनोरम हिमशृङ्खलाका दृश्य नियाल्दै पछिल्लो समयमा पिङ खेलेर मनोरञ्जनसमेत लिन पाइने भएकाले देवीस्थान डाँडा सबैको रोजाइमा पर्ने गरेको घुम्न आउने पर्यटकले बताए ।

त्यससँगै धुलिखेल नगरपालिकाले पनि पर्यटकीय नगरमा आउनेका लागि थप मनोरञ्जन प्रदान गर्न नगरको विभिन्न स्थानमा पार्क निर्माण गरिदिएको छ । नगर प्रमुख अशोक व्यञ्जु श्रेष्ठले चार वर्षका बीचमा नगरपालिकाको विभिन्न वडामा गरी ५३ वटा पार्क निर्माण गरिसकेको जानकारी दिनुभयो । बालबालिका, युवा र वृद्धवृद्धालाई मनोरञ्जन प्रदान गर्नका लागि बुद्ध पार्क, सरस्वती बजारको बाघ पार्क र भलभद्र कुँवरदेखि पृथ्वीनारायण शाहको पार्कलगायत अन्य पार्क निर्माण गरेर दक्षिण एशियामा नै सबैभन्दा बढी पार्क भएको शहरका रुपमा परिचित गराउने उद्देश्यका साथ अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

त्यससँगै नगरका मुख्य बजार धुलिखेल बजार क्षेत्रका विभिन्न स्थानमा पोखरी, मठ, मन्दिर पुनःनिर्माणसँगै पाटीपौवासमेत निर्माण गर्नाका साथै सपिङ कम्प्लेक्ससमेत निर्माण गरिएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण प्रभाव न्यून हुँदै गएपछि पर्यटकको आवागमन बढ्दै गएको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.