Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

म्याग्दीमा कालिजपालनको लहर

विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानुनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानुनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ । केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा)को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ ।

भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गर्नुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो व्यावसायिक सफलता मिलेको बताउनुहुन्छ । “पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन गरेको देखेर रुचि बढेको थियो”, उहाँले भन्नुभयो, “नेपालमा सरकारले कालिज पाल्न अनुमति दिएकाले पेन्सन आएलगत्तै व्यवसाय सुरु गरेको थिए ।”

गत वैशाख महिनामा रञ्जिला कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ३९ वर्षीय उहाँले ‘युट्युब’ हेरेर यससम्बन्धी जानकारी लिएको बताउनुभयो । सात रोपनी पाखोबारीलाई घेराबार गरेर आकाशलाई जालीले छोपिएको खोर बनाउनुभएको छ । पहिलो चरणमा ६०० वटा चल्ला हाल्नुभएका उहाँले छ महिनामै आम्दानी लिन थाल्नुभएको छ । प्रतिगोटा रु तीन हजार ५०० का दरले १०० वटा कालिज बिक्री भइसकेको छ । पोखराबाट थप ५० वटा भाले र ३० वटा पोथी कालिजको ‘अर्डर’ आएको व्यवसायि घिमिरेले जानकारीदिनुभयो ।

यो पनि पढनुस !!

उहाँका अनुसार खोर निर्माण र चल्ला खरिदमा रु २० लाख लगानी भएको छ । मकै, गहुँको घरायसी र बजारबाट खरिद गरेको दानाको साथै हरियो घाँसलाई आहराको व्यवस्थापन गर्नुभएको छ । बेनी नगरपालिका–४ सिङ्गाको हरियाली कृषि समूहको फार्मले गत वैशाखदेखि कालिजको चल्ला उत्पादन गर्दै आएको छ । पाल्नका लागि चल्ला र मासुका लागि वयस्क कालिजको माग बढेको हरियाली समूहका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो ।

“कालिजको मासुको परिकार होटल तथा रेष्टुरेष्टको मेन्यूमा थपिएको छ”, उहाँले भन्नुभयो, “सोख र व्यवसायका लागि कालिज पाल्ने क्रम बढेको छ ।” चार हजार कालिज मासुका लागि बिक्री योग्य भएका हरियालीको फार्मबाट दैनिक २०० गोटा चल्ला बिक्री हुन्छ । पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन् । कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । पछिल्लोपटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् ।

कालिज नेपालमा पाइने जङ्गली पक्षी हो । स्वादिलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको व्यावसायिक पालन भएपछि मासुका लागि जङ्गलको कालिज चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको वन प्राविधिकहरुले बताएका छन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.