मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार वर्षदेखि स्तरोन्नतिको क्रममा छ । तीर्थयात्री, पर्यटक र स्थानीयवासी आवतजावत गर्ने यो सडक पहिरो, कटान र बाढीले दैनिकजसो अवरुद्ध हुने गर्छ । म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको खण्डमा जोखिम, कष्ट र झञ्जटपूर्ण यात्रा गर्नुपर्छ ।
साँघुरो सडकको बीचमा गाडी फसेर आवतजावत बन्द हुने समस्या पनि उत्तिकै छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको हिउँदयामको यात्रासमेत सहज छैन् । सकसपूर्ण बेनी–जोमसोम सडकको यात्रालाई सहज बनाउन र अवरोध हटाउन रातदिन, झरी, बर्खा, धुलो, हिलोको प्रवाह नगरी खटिरहेका हुन्छन् ५० वर्षीय इन्द्रसिंह शेरचन ।
शेरचनको खटाइले सङ्कटका सेवकको पहिचान बनाउनुभएको छ । “रात दिन खटेर समन्वय नगर्ने हो भने एकै दिनमा तीन÷चार ठाउँमा भएको अवरोध हटाएर यात्रुलाई गन्तव्यमा पु¥याउन सम्भव हुदैन,” शेरचन भन्नुहुन्छ, “काम गर्दागर्दै कति दिन बाटोमै भोकै सुत्नुपरेको छ । आफै पर्खाल लगाउने, बेल्चाले पहिरो पन्छाउने, गाडी तान्ने गर्नुपर्छ ।”
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा हुने दुर्घटना, अवरोध र विपद्का घटनाको प्रायः सूचना पहिलो पटक शेरचनसँग पुग्छ । प्रहरी, प्रशासन, जनप्रतिनिधि, सञ्चारकर्मी, आयोजना र निर्माण व्यवसायीलाई सूचना दिने शेरचनलाई सम्बन्धित ठाउँमा नपुगी मनले मान्दैन् ।
“बाढीपहिरो तथा अन्य विपद्का घटना भए अग्रपङ्क्तिमा पुग्न इन्द्रसिङलाई कसैले पठाउन पर्दैन,” अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले भन्नुभयो, “समाजका जो कसैलाई पनि अप्ठेरो परको ठाउँमा पुग्नु उहाँको विशेषता हो ।”
इन्द्रसिंहको सक्रियता र समन्वयकारी भूमिकाले बेनी–जोमसोम सडकमा हुने अवरोध हटाउन, विपद् व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको पुनले बताउनुभयो । गतवर्ष काभ्रेभिर र रुप्से खण्डमा पहिरो गएर फसेका तीन हजार जना भन्दा बढी यात्रुलाई पिठ्युँमा बोकेर सडक पार गराएका शेरचनलाई संविधान दिवसमा विभूषित गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
विसं २०७६ माघ १६ गते अन्नपूर्ण गाउँपालिकाको खोपाराबाट नारच्याङ जाने क्रममा हराएका चारजना नेपाली पदयात्रीको खोजीका लागि शेरचनले स्थानीयवासीको नेतृत्व गर्नुभएको थियो । धवलागिरि आधारशिविरमा हराएका पर्यटक खोज्ने कामको पनि अगुवाई गर्नुभएका शेरचनले धवलागिरि र अन्नपूर्ण आधारशिविर जाने पर्यटक तथा उनीहरुको सामग्री पु¥याउन समन्वय गर्नुहुन्छ ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा गत साउनमा शेरचनले पिठ्यँुमै बोकेर पहिरो पार गराएर कोरोना भाइरस विरुद्धको भ्याक्सिन मुस्ताङमा समयमै पु¥याउन सहयोग गर्नुभएको थियो । विसं २०७३ असोजमा काभ्रेभिरमा १४ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका घाइतेको उद्धार र मृतकको शव सडकसम्म ल्याउन शेरचनले सुरक्षाकर्मीलाई सघाउनु भएको थियो ।
मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोटमा जन्मिनुभएका शेरचनको बसोबास हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा छ । बेनी–जोमसोम सडकको मार्ग खुलेपछि विसं २०६३ मा बेनीमा आएर २०७१ सम्म कालीपुलमा “मुस्ताङ लेते होटल” सञ्चालन गर्नुभएका शेरचन २०७३ मा पोखराको लेकसाइडमा सर्नुभएको थियो ।
विसं २०७४ देखि शेरचनका परिवारले दानामा होटल व्यवसाय गरिरहेका छन् । उहाँले होटलमा काम गर्ने श्रमिकका पाँचजना बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाउनु भएको छ । शेरचनकी श्रीमती सुनिताले चलाएको होटलमा आठ जनाले रोजगारी पाएका छन् । “मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट” शेरचनको ब्राण्ड जस्तै छ । विवाह गरिसकेका दुई छोराछोरी पोखरामा पर्यटन व्यवसाय गर्छन् । एउटी छोरी पोखरामा पढ्दैछिन् । (रासस)