Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेको सङ्ख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेको सङ्ख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । भएका युवा पनि विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो । बाह्रैमहिना खेती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले भएका जमिन बाँझै छाडेका छन् ।

युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । जिल्लाको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टर भन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “खेती गर्न जनशक्ति पाइदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा जमिन बाँझै छाड्न बाँध्य छौँ ।”

यहाँका बासिन्दाले आफ्नै जग्गा भएर पनि सदरमुकामदेखि खाद्यन्न सामग्री किनेर ल्याउने गर्दछ । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका– ३ का जगबहादुर बुढाले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेती गर्न छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ । शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने रोजगारका लागि विदेशिएका परिवार पनि सुविधा खोज्दै सहरमा बसाइँ गर्न थालेपछि गाउँका घरमा बुढाबुढी मात्रै देखिन्छन् ।

यो पनि पढनुस !!

वर्षौ देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएका घरको पुनःनिर्माण नगरी सहरबजारमा डेरामा बस्न थालेका छन् ।

एकातिर कामदारको अभाव छ भने अर्को तर्फ खेतीयोग्य जमिनलाई प्लटिङ गर्ने क्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएर मूल्यवृद्धि हुन थालेको छ । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकोले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्य वृद्धि हुने गरेको व्यापारीको भनाइ छ ।

“खेतबारीमा वनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भन्नुभयो । कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायत ठाउँमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिञ्गा, बगरफाँट, डाँडाखेतलगायत ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् ।

यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बीमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।

भूकम्पपछि गाउँबाट सहर झर्ने क्रम बढेसँगै खेतीयोग्य जमिनलाई घडेरीका रुपमा बेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुने क्रम उत्तिकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर पचास थान भन्दा बढी जग्गा किनबेच हुने गरेको कार्यालय प्रमुख कृष्णबहादुर कार्कीले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.