Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

डोकोमा पानी बोक्ने दुःख अन्त्य

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गरिएको हो

तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जानुहुन्थ्यो । पानीको जोहो गर्न सबेरै जानुपर्ने उहाँको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भैसकेको थियो ।

सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्नुहुुन्थ्यो । बिहानै नपुगे खानेपानी पनि पाईदैन थियो । “बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो”, उहाँले भन्नुभयो, “एक घण्टासम्म डोकोमा बोकेर पानी ल्याउनुपथ्र्यो ।”

दुवै जनालाई अब पानीको जोहो गर्न डोको बोकेर पँधेरासम्म पुग्न परेन । रोटरी क्लब अफ दमौलीले दाताको सहयोगमा गाउँमै खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयवासीका पानीको दुःख हटेको छ । सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा छ चुँदेर गाउँ । सदरमुकाम नजिकै भए पनि यहाँ वर्षौसम्म खानेपानीको चरम अभाव रह्यो । “खानेपानीको अभावले कति दुःख भयो भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन”, सीतामायाले भन्नुभयो, “आज घरमै धारा आउँदा खुसीको सीमा नै छैन ।पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झरे, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही बस्याँै।”

पचास वर्ष पहिला १५० घरधुरी रहेकामा खानेपानीको दुःखकै कारण अधिकांश गाउँले बेँसी झरेको स्थानीयवासी अमर थापाले जानकारी दिनुभयो । खानेपानी योजना माग्दै विभिन्न तहका सरकारको ढोका गुहारेपनि सुनुवाइ नभएपछि रोटरी क्लबले खानेपानी बनाइदिने भन्ने खबरले स्थानीयवासी खुसी भए । “खानेपानी योजना सम्पन्न भएर घरदैलोमा नै पानी आएको देख्दा खुसीले गद्गद् छौँ, वर्षांैदेखिको पानीको दुःखले स्थानीयवासीले भोग्नुपरेको दुःख अब हट्यो”, सीतामायाले भन्नुभयो ।

अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गरिएको हो । वर्षौंदेखि खोल्सा र पँधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घरघरमा खानेपानी पु¥याउने उद्देश्यसहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण सुरु भएको थियो । रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण गरिएको दमौली रोटरीका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो । यसबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।

यो पनि पढनुस !!

खानेपानीका लागि अमेरिकास्थित रोटरीले रु ८४ लाख ८१ हजार ६६७, दमौली रोटरीले रु तीन लाख ४२ हजार सहयोग गरेकामा नपुग रकम नगरपालिकाले बेहोरेको दमौली रोटरीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । यो योजनामा ३० मिटरको ट्रान्समिसन लाइन र ५८० मिटर वितरण लाइन निर्माण गरिएको छ ।

खानेपानी योजना शुभारम्भ गर्दै रोटरी क्लब अफ नेपाल– भुटान ३२९२ का पूर्व गर्भनर राजीव पोखरेलले नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा रोटरीले सहयोग गर्दै आएको बताउनुभयो । यो योजना दिगो बनाउने काम स्थानीयवासीको भएको उहाँको भनाइ थियो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले खानेपानीको चरम अभाव भएको गाउँमा रोटरीले खानेपानी योजना निर्माण गरिदिएर सकारात्मक काम गरेको बताउनुभयो । “रोटरीले नगरेको भए यो काम नगरपालिकाले गर्नुपथ्र्यो, नगरपालिकाको अभियानमा रोटरीले साथ दियो”, उहाँले भन्नुभयो । वडाध्यक्ष मोहनकुमार श्रेष्ठले खानेपानीको अभावमा गाउँ छाडेर गएकालाई अब गाउँ फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.