Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

पहिरो र नदी कटानको जोखिममा बगरफाँट

सिरानमा भीरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँ जोखिममा पर्दै जान थालेको छ

सिरानमा भीरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँ जोखिममा पर्दै जान थालेको छ ।

विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको सिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित आउने म्याग्दी नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । “गाउँ जोखिममा छ, सिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैंँभरी रहिरहन्छ”, बगरफाँटका ७६ वर्षीय डिलबहादुर घिमिरेले बताउनुभयो ।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफल भन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै बढेको स्थानीय वुद्धिजीवी तथा नदी नियन्त्रणका लागि वर्षौदेखि लागिपर्नु भएका म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

यो पनि पढनुस !!

अध्यक्ष कार्कीका अनुसार बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको सिरानमा अवस्थित ठूलो पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केहीमात्रामा भए पनि गाउँ सुरक्षित हन्छ ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँटरहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको सिरानमा रहेको जङ्गल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ । पहिराले गाउँ कुरुप बन्दै जान थालेको र सिरानका पाँच घरपरिवारले आफ्नो घर नै छोडेर बसाइँ सरिसकेका स्थानीयवासी कृष्ण रिजालले बताउनुभयो ।

त्यसैगरी म्याग्दी नदीको कटान नियन्त्रणका लागि अहिलेसम्म करोडौंँ रुपैयाँ लगानी गरेर ग्याबिन पर्खाल लगाउने काम भए पनि त्यो प्रभावकारी हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.