काठमाडौं, १५ मङ्सिर । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रतियोगिताको अघिल्लो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताए ।
“मैदानभित्र प्रतिस्पर्धा भइ नै हाल्छ । मैदानबाहिर हामी मिल्ने साथी हौँ । मैदानमा उत्रिएपछि सबैको लक्ष्य जित नै हुन्छ । हामी पनि त्यसैका लागि खेल्ने छौँ”, विराटनगरका कप्तान सन्दीपले भने ।
यता, उद्घाटन खेलमा कस्तो रणनीति हुनेछ ? भन्ने प्रश्नमा जनकपुरका कप्तान अनिलले भने मैदानभित्र प्रदर्शन देखाउने बताए । “अहिले भन्नलाई केही पनि छैन । खेलमा सबै देख्नुहुन्छ नै”, अनिलले भने ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।