पदयात्रा पर्यटन व्यावसायीहरुको साझा मोर्चा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो ४६औं वार्षिक साधारण सभा मार्फत आज (भदौ-१७) नयाँ नेतृत्व चयन गर्दैछ । सन् १९७४ मा स्थापित भएको टानले यसविचमा अनेकौ आरोह-अवरोहहरू पार गरेको छ भने आफ्नो पर्वतीय पर्यटन प्रवर्द्धनको उद्देश्यमा व्यावसायिक सफलता मात्र होइन, सामाजिक मान र प्रतिष्ठत्समेत प्राप्त गरेको छ।
टानको व्यावसायिक सम्बन्ध अन्तर्राष्ट्रिय रुपमा जोडिएको छ भने इन्जत र प्रतिष्ठा फैलिएको छ। अन्तर्राष्ट्रिय दातृ निकायहरूको समेत पछिल्लो समय टानप्रति आकषित भएका छन् । यति ठूलो गरिमा र प्रतिष्ठा बोकेको टान पछिल्ला वर्षहरुमा अति राजनीतिकरणको प्रभावले कमजोर बनेको छ। व्यावसायिकता भन्दा ज्यादा राजनीतिकरणको प्रभावले संस्थाको गरिमा र प्रतिष्ठामा ठूलो आँच पुगेको कुरामा दुई मत थिएन र भयो पनि त्यस्तै ।
टानको गरिमामय इतिहासलाई जोगाउने र अति राजनीतिकरणलाई हटाउने अबसर अहिले टानका सदस्यहरुले प्राप्त गरेका छन्। त्यसको लागि पर्यटन व्यवसायीहरुले व्यावसायिक उम्मेदवारलाई नेतृत्वमा पुन्याउन सक्नु पर्छ। पदयात्रा पर्यटनमा लामो अनुभव भएको नेतृत्व गर्न सक्ने, यसको विषयमा बुझेको, हाम्रो होइन राम्रो नेतृत्व टानले खोजिरहेको छ। टानलाई देखाएर व्यक्तिगत फाइदा लिनेलाई चिन्न सकेनौ भने टान टानको रूपमा रहने छैन। जसको गरिमा र प्रतिष्ठा गुम्ने छ। व्यवसायीहरुकोबीचमा यस पटक पेशागत नेतृत्व चुन्ने अवसर आएको छ। यो अवसरमा राजनीतिक आग्रह पूर्वाग्रह भत्दा माथि उठेर व्यवसायिक उम्मेदवारलाई टानको नेतृत्वमा पुऱ्याउन पर्यटन व्यवसायीहरु एकै ठाउँमा उभिनु पर्छ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ (टान)को अबको नेतृत्व व्यवसायीक योजन भएको हुनुपर्छ भन्नेमा दुईमत छैन। पर्यटन व्यवसायीहरूले आफ्नो पेशाको नेतृत्व पनि व्यासायीकनै रोज्नुपर्छ। पर्यटन क्षेत्रमा राम्रो अनुभव भएको बुझेको व्यक्ति टानमा नजाने हो भने त्यसको गरिमा र प्रतिष्ठामा चोट पुग्नेछ । अव जाने टीमले नेपालको पर्वतीय पर्यटनमा गर्नुपर्ने धेरै काम छन् ।
टान निर्वाचन प्रचारको क्रममा अनावश्यक खर्च भएको छ। एउटा उम्मेदवारले लाखौ-लाख खर्च गर्नुपर्ने अवस्था छ। यस्तो खर्चिलो चुनावी विधिको विकल्प सोच्न व्यवसायीहरूले ढीला गर्नु हुन्न। टान निर्वाचन महङ्गो हुन जाँदा टानमा जान चाहने अनुभवी व्यवसायीहरू त्यही कारणले पछाडि हट्ने अवस्था आएको छ। यो दु:खद पाटो हो। पैसा भएका होईन योजना र अनुभव भएका व्यक्तिलाई टानमा पठाउनुपर्छ । टानप्रति पर्यटन व्यवसायीहरूको विश्वास अझ बढउने काम अब आउने नेतृत्वले गर्नुपर्छ । नयाँ पदमार्गको पहिचान गरि स्थानीय तहमा जनताको आर्थिक वृद्धि र विकासमा अवको कार्य समितिले ध्यान केन्द्रित गर्नुपर्छ। चुनाव जित्नुमात्र ठुलो कुरा होइन काम गरेर देखाउने चुनौतीलाई अबसरमा बदल्न सक्नु पर्छ । त्यसको लागि सबै पर्यटन व्यावसायीहरू राजनीति भन्दा माथि उठेर व्यवसाय र व्यावसायीको मुद्धा केन्द्रीत हुनुको विकल्प छैन।
दूरदर्शी, व्यवसायिक चिन्तन र सोच भएको नेतृत्व टानमा जान सक्यो भने मात्र त्यसको भविष्य सुन्दर हुन सक्छ । अब आउने नेतृत्वले टानको गरिमामय इतिहासमा लागेको दागहरू मेटाउने आँट गर्न सक्नुपर्छ। टानको प्रतिष्ठालाई माथि उठाउन अनुभवी, सिर्जनशील उम्मेदवारलाई मत दिएर व्यवसायिक प्रतिष्ठालाई अरु उचाईमा पुऱ्याउन जरुरी छ । टानको गिरेको साख र गरिमा फर्काउन सिर्जनशील कर्मठ व्यावसायीहरुको जिम्मा लागाउनु पर्छ। पुरानो सनातनी परम्पराबाट टानलाई नजोगाउने हो भने व्यावसायीहरुले `हाम्रो होइन राम्रो´ नेत्रत्व चयन गर्न चुक्नु हुन्न।