काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि गरी जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको बताए।
सुशासन, पारदर्शिता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको उनले स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको स्मरण गरे।
अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धि सम्झौता अन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै उनले भने, ‘मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाई मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि विश्वव्यापी रूपमा नै नेपालले ऐक्यबद्धता व्यक्त गर्दै आएको छ।’
संघ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गरी तीनै तह र मानव अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था, नागरिक समाजको समन्वयमा यससम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनलाई जोड दिइएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। उनले मानव अधिकारको सम्मान, संरक्षण तथा संवर्द्धनलाई संस्कृतिको रूपमा विकास गरी मानव अधिकारमैत्री गाउँ, समाज र राष्ट्र निर्माण गर्न अपिल गरे।
प्रधानमन्त्री प्रचण्डले यस वर्ष सम्मानित मानव अधिकारको संरक्षण, सम्मान र संवर्द्धनको क्षेत्रमा अझ प्रोत्साहित भएर कार्य गर्न हौसला प्रदान गर्नेसमेत विश्वास व्यक्त गरे।