काठमाडौँ, ५ पुस । नेपाली काँग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने भएको छ । काँग्रेसले दलको नेताका लागि आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय निर्धारण गरेको हो ।
काँग्रेसका संयोजक भीष्मराज खाङ्देम्बेले आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए। उनका अनुसार उम्मेदवारी दर्ता शुल्क ५१ हजार रहेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि काँग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ । काँग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।