Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण

काठमाडौँ, २३ मंसिर । मेलम्ची खानेपानी आयोजनाले आज (शुक्रबार) देखि काठमाडौं उपत्यकामा पुनः खानेपानी वितरण सुरु गर्दैछ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गर्न लागिएको हो। गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो।

गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो।

केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो। आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

यो पनि पढनुस !!

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ । अर्बौँ रकम खर्च गरेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा मात्र पानी आउन थालेपछि राजधानीवासी काकाकुल हुनुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।

आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्याङ्कीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए।

राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौँ १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो।

नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायीरुपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.