काठमाडौं, ५ बैशाख । महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलबारे निर्णय गर्न बसेको ५ दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सोमवार विहान र साँझ गरी २ पटक बसेको बैठक सहमतिमा पुग्न नसकेको हो ।
गठबन्धनको बैठक मंगलवार साढे ११ बजे फेरि बस्ने निर्णय भएको कांग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘महानगरपालिका र नगरपालिकामा तालमेलबारे निष्कर्षमा पुग्ने अवस्थामा छौं ।
भोलिको बैठकमा छलफल गरेर तालमेलबारे टुंगो लगाउँछौं,’ कार्कीले भने ।
गठबन्धनमा कांग्रेसले ३ महानगरपालिका, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १/१ महानगरपालिका लिने गरी छलफल भइरहेको छ ।
तर कुन दलले कुन उपमहानगरपालिका लिने भन्नेबारे गठबन्धनमा रहेका दलहरू सहमतिमा पुग्न सकेका छैनन् ।
महानगरपालिकाका उपमेयर कुन–कुन दलले पाउने भन्ने पनि टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।