Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

मध्यपहाडी कालोपत्र ः निर्णयमा पाना भरिन्छन्, काममा प्रगति हुँदैन

पार्टी काम छोडेर छलफलमा बस्नुभएका राजमो अध्यक्ष थापाले पनि ठेकेदार र आयोजना दुवैको लापर्बाही रहेको बताउनुभयो

राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक जिप्रकामा हुन्छ । निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन ।

प्रशासनले फेरि आयोजना र निर्माण कम्पनीलाई ताकेता गर्ने प्रयास ग¥यो । बिहीबार सरोकारवाला राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिए पनि आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झुट बोलेर बैठक भाँडियोे । निर्माण कम्पनीका प्रमुख उपस्थित हुन्छन् भनेर डाकिएको बैठकमा आयोजनाको कुश्मास्थित कार्यालयका प्रमुख नारायणदत्त भण्डारी नै निर्धारित समयभन्दा ४५ मिनेट ढिलो उपस्थित हुनुहुन्थ्यो । उहाँले बैठकमा सहभागिलाई दुई घण्टासम्म निर्माण व्यवसायी आउँदै गरेको जानकारी गराउनुभएको थियो ।

१० बज्नै लाग्दा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै बैठकमा उपस्थित हुनुभयो । उक्त खण्डमा काम गरिरहेका दुई निर्माण कम्पनीका साइड इञ्चार्ज सौरभ घिमिरे बैठकमा उपस्थित हुनुभयो । यत्तिकैमा प्रजिअले शिवकुमार कार्कीले भन्नुभयो, “मसँग हजुरले ठेकेदार आफैँ आउँछन् भनेर किन झुट बोल्नु भो यहाँ त अर्कै भाइ आए, उनीसँग त के छलफल गर्नु सधैँ भेट भइरहने साइड इञ्चार्ज हुन नि । ”, उहाँले आयोजना प्रमुखलाई सोध्नुभयो, “किन झुट बोल्नु भो ? किन आएनन् व्यवसायी ?”

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष कृष्ण पाठक, नेपाली कांग्रेसका सभापति दीपेन्द्र थापा, नेकपा (माओवादी केन्द्र)का संयोजक ज्ञामनाथ गैरे, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष शैलेन्द्र श्रेष्ठलगायत केही जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अन्य सरोकारवाला बैठकमा हुनुहुन्थ्यो । निर्माण व्यवसायी नै नआएकाले आयोजनासँग छलफल गर्नुको कुनै औचित्य नरहेको भन्दै सबै हिँड्नुभयोे ।

“सर्कुवामा अनुगमनको कार्यक्रम थियो, उहाँ पुग्ने बेलासम्म यहाँ कुरेर बसियो, ठेकेदार आउलान भनेको उनका दूतमात्रै आए”, जिसस प्रमुख ढुङ्गानाले भन्न्नुभयो, “यो आयोजनाको अपमान र काम नगर्ने प्रवृत्तिको चित्र हो ।” समयमा काम नगर्न कै लागि आयोजनाले निर्माण व्यवसायीलाई उपस्थित नगराएको आरोप उहाँले लगाउनुभयो ।

यो पनि पढनुस !!

पार्टी महाधिवेशनअन्र्तगत प्रदेश क्षेत्र र सङ्घीय क्षेत्रको निर्वाचन तयारीमा रहेका कांग्रेस सभापति थापा पटक–पटक निस्कन खोज्दै हुनुहुन्थ्यो तर, निर्माण व्यवसायी आए जनताका समस्या र काम नभएको विषयमा आफ्ना कुरा राख्न उहाँ रोकिनुभयो तर, अन्तिम समयमा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै आएपछि आयोजना र निर्माण व्यवसायीका बीचमा स्वार्थ बाझिएको आरोप लगाउँदै उहाँ बाहिरिनुभयो ।

पार्टी काम छोडेर छलफलमा बस्नुभएका राजमो अध्यक्ष थापाले पनि ठेकेदार र आयोजना दुवैको लापर्बाही रहेको बताउनुभयो । कोरोनाको बहानामा यसपटक देशभरका निर्माण व्यवसायीले चैत मसान्तसम्मको म्याद पाएका छन् । लोकमार्गको २५ किलोमिटर खण्डको काम पाएका निर्माण कम्पनीले पनि चैतसम्मको समय पाए । निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दासमेत कालोपत्रेको काम रोकिएको सरोकारवालाको आरोप छ । काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्नुपर्ने नेताले बताए ।

विसं २०७२÷७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३÷७४ मा सुरु भएको बागलुङ अक्षेते खण्ड तीन वर्षमा सकिनुपर्ने थियो । छ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम भएको छैन । म्याद थप्ने समयमा मात्रै देखिने मजदुर म्याद थप भएपछि देखिन छोड्छन् भने निर्माण उपकरण थन्किने गरेका छन् ।

बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रेको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव पाँच किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सन दुवैले चित्तबुझ्दो काम नगरेको उनीहरुको आरोप छ । निर्माण व्यवसायीकै उपस्थितिमा तत्काल अर्को बैठक बसेर आयोजनाका विषयमा छलफल गर्ने जिप्रकाले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.