Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

बाढीपहिरो प्रभावितलाई सहयोग हस्तान्तरण

सांसद वसन्तकुमार नेम्वाङसहित नेकपा (एमाले)का नेता तथा जनप्रतिनिधिको टोलीले बाढीपहिरोमा परी मृत्यु भएका तथा बेपत्ताका परिवारसँग भेटघाट गरेका छन्

सांसद वसन्तकुमार नेम्वाङसहित नेकपा (एमाले)का नेता तथा जनप्रतिनिधिको टोलीले बाढीपहिरोमा परी मृत्यु भएका तथा बेपत्ताका परिवारसँग भेटघाट गरेका छन् । यस क्रममा एमाले पाँचथरले पार्टीका तर्फबाट मृतकका परिवारलाई राहत रकमसमेत उपलब्ध गराएको छ ।

यही कात्तिक १ गतेदेखि ३ गतेसम्मको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोमा परी फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा मृत्यु भएकाका परिवारसँग सो टोलीले आइतबार र सोमबार भेटघाट गरेको हो । यस क्रममा पीडितपरिवारका गुनासा, समस्या तथा माग सुन्नुका साथै उक्त टोलीले बाढीपहिरोबाट प्रभावितको दीर्घकालीन व्यवस्थापन, राहत र सहयोगका उपायबारे अन्तक्र्रिया गरेको छ ।

सांसद नेम्वाङसहित तत्कालीन संविधानसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राई, एमाले प्रदेश कमिटी सदस्यद्वय करुणा राई र सन्त राई, एमाले पाँचथरका सचिव धनकुमार फियाकसहितको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग भेटघाट गरेको हो ।

यस क्रममा एमाले पाँचथरले प्रत्येक मृतकका परिवारलाई रु १० हजारका दरले राहत रकम उपलब्ध गराएको छ ।
यस क्रममा मिक्लाजुङ –१, २, ४, ५, ६ र ७ का बाढीपहिरो प्रभावितले सरकारसमक्ष राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गरिदिन माग समेत गरेका थिए ।

यो पनि पढनुस !!

प्रभावित क्षेत्रको प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले स्थलगत निरीक्षण समेत गर्नुभएको थियो ।

टोलीले फाल्गुनन्द– ३ गुम्बाडाँडा र वडा नं ४ च्याप्लुङमा कार्यक्रमको आयोजना गरी मृतकका परिवार तथा बाढीपहिरो प्रभावित परिवारसँग भेटघाट गरेको थियो भने जिल्लाको मिक्लाजुङ–१ सराङडाँडाको दुर्गा माध्यमिक विद्यालय, वडा नं ४ मा रेडक्रस सोसाइटी उपशाखाको भवन, वडा नं ५ चिसापानी पञ्चमी बजार र वडा नं ७ लेखगाउँमा विस्थापित बसेको स्थानमा पुगी प्रभावित परिवारलाई भेटघाट गरी सहयोग हस्तान्तरण गरेको हो । यस क्रममा राहत वितरणका क्रममा मिक्लाजुङ–५ चिसापानी पञ्चमीसँग सीमा जोडिएको इलामको माङ्सेबुङ गाउँपालिका–६ मा पहिरोमा परी मृत्यु भएका एकैघरका चार जनाका परिवारका अन्य सदस्यलाई रु. पाँच हजारका दरले रु २० हजार राहत रकम उपलब्ध गराइएको थियो ।

मिक्लाजुङ–२ का वडाध्यक्ष एवं नेपाली कांग्रेस गाउँपालिकाका सभापति सन्तोष शेर्माले विपत् प्रभावितलाई सहयोग गर्न सबै दल र सामाजिक सङ्घ संस्था सक्रिय हुँदा खुुसी लागेको बताउनुभयो । मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु हुनुका साथै ३३८ परिवार विस्थापित भएको उहाँले जानकारी दिनुभयो ।

टोलीले पहिरोमा परी बेपत्ता इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीद्वय रवीन राई र ठाकुरप्रसाद याख्खाको परिवारलाई समेत मिक्लाजुङ–६ चिसापानी पञ्चमी बजारमा भेटघाट गरेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.