Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

नागढुङ्गा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ

नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ ।

सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । त्यसबाहेक काठमाडौँ जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने उहाँले बताउनुभयो ।

यो पनि पढनुस !!

उहाँले भन्नुभयो, “भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुङ्गो लगाउनेछ ।” खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताउनुभयो । पहिराको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्गाउनुपर्ने उहाँले बताउनुभयो । “स्थानीयवासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन”, उहाँले भन्नुभयो, “चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ ।”

जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण सुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ सुरु भएको प्रमुख शाक्यले बताउनुभयो । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुङ्गो लागेपछि निर्माण अघि बढाइनेछ । उहाँले भन्नुभयो,“अबको बैठकले बाँकी कुरा टुङ्गाएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ ।” सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण अन्तिमचरणमा पुगेको छ । केही दिनमा नै घर–घरमा पाइप लगिने उहाँले बताउनुभयो । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.