Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ ।

मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय ५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्नलाई वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार दुई सय पचास रुख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ ।

चार लेनको मुग्लिङ–पोखरा ८० किलोमिटर सडक विस्तारमध्ये हालसम्म तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । सर्भे डिजाइन सकाएर फाइनल गर्ने चरणमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा यो खण्डको ठेक्का सम्झौता भएको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइेपुगका छन् । भदौ १३ मा यनहुइका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि आएपनि कामदार भने आइपुगेका छैनन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बीमा र पेश्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन् । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । तीमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुनेछ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्ग भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख चार हजार विनियोजन भएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.