Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

कालीगण्डकीमा मोटरेबल पुल निर्माण

अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ

अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजरुपमा सवारी आवत जावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । असी मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिनुभयो ।

“पुल र पहुँचमार्ग निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “हस्तान्तरण भएपछि औपचारिक रुपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।” एघार मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधीले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा नम्बर–२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सत्तरी मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रुप दिन बाँकी छ । विसं २०६४ मा ट्रयाक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् ।

यो पनि पढनुस !!

बेनी–जोमसोम सडकअन्तर्गतनै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रु आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताउनुभयो ।

पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । भारत र चिन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतीको काम भइरहेको छ ।

रु छ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सात वटा खण्डमा काम भइरहेको छ । चार वटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादबले बताउनुभयो ।

सो सडक स्तरोन्नति र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.