Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

जडीबुटीका बिरुवा रोप्न स्थानीयवासी उत्सुक

नेपाली सेनाको फस्ट रैफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयवासीको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोपिरहेको हो

नेपाली सेनाको फस्ट रैफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयवासीको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोपिरहेको हो ।
यसैबीच हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका–१२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, लालीगुँरास, मसलालगायत दुई हजार बढी बिरुवा रोपिएको छ ।

यो अभियानअन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वातावरण संरक्षण गर्न यो अभियानअन्तर्गत हामीले जिल्लाभर १२ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिएका छौँ । यसले यहाँको वातारवरणको संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौँ ।

सेनाले थालेको अभियान सराहनीय रहेको र वनकोे संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाले थालेको यो अभियान स्वागतयोग्य छ । नाङ्गा पाखालाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । सेनाले थालेको अभियानलाई हामी पनि साथ र सहयोग दिएर अगाडि बढ्छौँ ।”

रोपिएका बिरुवालाई नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने बताएका छन् । अन्य स्थानमा पनि वृक्षरोपन गर्ने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । वृक्षरोपनका लागि डिभिजन वन कार्यालयले सेनालाई बिरुवा उलब्ध गराउँदै आएको त्यहाँका प्रमुख विष्णुलाल घिमिरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नाङ्गाडाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधि बढाइरहेका छौँ । नेपाली सेनाले पनि अभियान नै सञ्चालन गरेर वृक्षरोपनका काम गरिरहेको छ । यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ । पछिल्लो समय जिल्लामा वृक्षरोपनका गतिविधि बढेको छ । विषेश गरेर स्थानीयहरुमा फलफूल तथा जडीबुटीका बिरुवा रोपनमा चासो देखिएको छ ।”

बर र पिपल संरक्षण
वन कार्यालयले बर, पिपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका बर र पिपल मासिन थालेकाले कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।

बर पिपलबाट प्रशस्त मात्रामा अक्सिजन प्राप्त हुने तथा वातावरण हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्नका लागि अभियान सञ्चालन गरिएको हो । धेरै मात्रामा बर र पिपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने छ । बर, पिपलका फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्न बालीमा कम क्षति हुने कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै वर्ष पुराना बर र पिपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा तिनका ठुटा मात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्षरूपमा हानी पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर अभियानका रुपमा काम गर्दै आएका छौँ ।”

यो पनि पढनुस !!

त्यस्तै बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा इस्कुस रोप्नका लागि आग्रह गरिरहेका छौँ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा कम क्षति गर्ने अनुमान गरिएको छ ।

प्रमुख घिमिरेले भन्नुभयो, “हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरुलाई खानका लागि आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वभाविक हो । त्यसैले वन क्षेत्रमा पनि फलफूलका बिरुवा विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले पनि हामीले खुला क्षेत्रमा बर र पिपल रोप्ने अभियान सञ्चालनमा गरेका हौँ ।”

कृषक उत्सुक

पछिल्लो समय स्थानीयवासी जडीबुटीका बिरुवा रोप्न उत्सुक भएका छन् । वन कार्यालय तथा सामुदायिक वनका पदाधिकारीले यस्ता बोटबिरुवाको महत्वबारे जानकारी दिनका साथै कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएकाले उनीहरूमा बिरुवा रोपनमा मोह बढेको हो ।
विभिन्न कृषक लक्षित कार्यक्रमले यहाँ जडीबुटीमा लाग्ने कृषकको सङ्ख्या बढेको छ । कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेकाले कृषकले जडीबुटी खेतीलाई व्यावसायिकरूपमा सञ्चालनमा ल्याएका हुन् । यस वर्ष मात्रै टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो ।

कृषकलाई आयआर्जनमा जोड्न, टिमुर, लालीगुँरास, तेजपत्ता, लोठ सल्ला, पयँुलगायत बिरुवा विस्तारमा प्रोत्साहन गर्नाका साथै जिल्लाका छवटा नर्सरीबाट एक लाख ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालयको भनाइ थियो ।

करिब पाँच हजार कागती, एभोकाडोलगायत बिरुवा कृषकलाई वितरण गरिएको कार्यालयले जनाएको छ । वर्षेनी बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेको गुनासो गर्दै सरोकारकार व्यक्तिले कृषकले उत्पादन गरेका जडीबुटीको बजारीकरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम भइरहेको र कृषकलाई थप प्रोत्साहन गर्न लाहाखेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना तयार भइरहेकाले त्यसमा छुटेका विषयवस्तुका बारेमा राय सुझाव सङ्कलन लिइएको बताइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.