Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बगरफाँटमा तीन महिनादेखि खानेपानीको हाहाकार

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन्

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्दछन् । खोला र कुवाको दूषित पानीका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकीलगायतका मौसमी रोग देखिएको स्थानीयवासीले बताएका छन् ।

गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत तीन महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य भएका हुन् । मर्मतकार्यमा बगरफाँट खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटकी सावित्री शर्माले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा तीन महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयवासीले बताएका छन् ।

विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन् । गाउँको पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.