Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सङ्क्रमण दर कम भएसँगै दैनिक सेवा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ । कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो ।

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतबारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा भीडभाड कम भएको हालको अवस्थामा कोरोना सङ्क्रमणदर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

यसैबीच काभ्रपलाञ्चोकको चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएको छ । कोरोना सङ्क्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् । हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप सङ्क्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका छन् ।

सोमबार १४, आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । जिल्लामा हाल १२१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच सङ्क्रमित रहेका छन् । जिल्लामा हालसम्म १४ हजार ४९६ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ सङ्क्रमणमुक्त भइसकेका छन् (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.