Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

हवाई आक्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ घाइते

नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ

नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष आम नागरिक बढी पिडित भएका छन् । नाइजेरियाली विमानले यही हप्ताको सुरुमा आक्रमण गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । बोको हराम र इस्लामिक स्टेटमा आवद्ध व्यक्तिहरू रहेको सूचनाका आधारमा आक्रमण गरिएको समाचारमा जनाइएको छ ।

विद्रोहीहरूलाई लक्षित गरेर आक्रमण गरेको भएपनि आम सर्वसाधारण समेत पर्नुलाई सरकारी अधिकारीहरूले ‘भूलवस भएको कमजोरी’को रुपमा लिएका छन् । सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोहीहरुसँग सरकारी सुरक्षाकर्मीहरुको भिडन्त हुदै आएको छ । सरकार विद्रोहीबीचको द्वन्द्वका कारण अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी द्वन्द्वमै परेर अरु झण्डै २० लाख मानिस आफ्नो घरबाट विस्थापित भएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

लडाकू विमानले बुधबार योबे राज्यको बुहारी गाउँमा आक्रमण गरेको हो । घटनास्थल छिमेकी मुलुक नाइजरसँगको सिमा क्षेत्रमा पर्दछ । त्यस ठाउँमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने अरु कम्तीमा १९ जना घाइते भएको स्थानीयले बताएका छन् । तर योबे राज्यको विपद व्यवस्थापन प्रमुख मोहम्मद गोजेले कम्तीमा नौ जनाको मृत्यु भएको शुक्रबार पुष्टि गर्नुभयो । “घटनामा परी अन्य कम्तीमा २३ जना घाइते भएका छन्, घाइते हुनेमा महिला, बालबालिका र पुरुष पनि रहेका छन्,” घटनास्थलको भ्रमणबाट फर्केका गोजेले भन्नुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइतेहरूको राज्य राजधानी डामातुरुमा रहेको अस्पतालमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.