काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्किने छुट नभएको स्पष्ट पारेका छन्। गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री अर्यालले सरकारको प्रमुख ‘म्यान्डेट’ तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए। सरकार निर्वाचन प्रक्रियामा होमिइसकेको उल्लेख गर्दै उनले तोकिएको मितिमै निर्वाचन हुनेमा कुनै शंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे। जेनजी आन्दोलन सुशासन कायम गर्ने उद्देश्यले भएको बताउँदै मन्त्री अर्यालले सरकार सुशासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। तोकिएको मितिमा निर्वाचन सम्पन्न नभए देशले गम्भीर संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दृढता व्यक्त गरे। साथै, सरकारले गरिरहेका कामप्रति सबै पक्षबाट हौसला प्रदान गरी सरकारको मनोबल बढाउन समेत उनले आग्रह गरे।
ट्रेनडिंग