काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय देखिन थालेका छन्। आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग निजी भेटवार्ता गरेका छन्। स्रोतका अनुसार कुलमानले रविलाई उनको निवासमै भेटेका थिए। भेटवार्तामा मुख्यतः पार्टी समायोजन, एकता प्रक्रिया तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बताइएको छ। छलफलका क्रममा कुलमानले एकता प्रक्रिया सम्मानजनक, पारदर्शी र सबै पक्षलाई स्वीकार्य हुनुपर्नेमा जोड दिएका थिए। राजनीतिक समायोजन गर्दा मूल्य, विचार र सार्वजनिक विश्वासलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ रहेको स्रोतले जनाएको छ। यद्यपि भेटवार्ताबारे दुवै पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन। तर यो भेटलाई कुलमानको सक्रिय राजनीतिक प्रवेशको संकेतका रूपमा हेरिएको छ। हालै मन्त्री पदबाट राजीनामा दिएका कुलमानको आगामी राजनीतिक कदमलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ। रास्वपाभित्र पनि सम्भावित समायोजन र नयाँ रणनीतिबारे आन्तरिक छलफल तीव्र हुँदै गएको बताइन्छ।
ट्रेनडिंग