भदौ २४ गते (सेप्टेम्बर-९) का दिन नेपालका सयौँ सरकारी भवनहरू आगोले ध्वस्त भए । ऐतिहासिक दरबारदेखि सर्वोच्च अदालत र संसद भवनसम्म। स्थानीय तहका कार्यालय, विद्यालय, व्यापारी प्रतिष्ठान र राजनीतिज्ञका घरसमेत जलाइएका थिए। यो घटनाको एक दिनअघि, अर्थात् (भदौ-२३)सेप्टेम्बर ८ मा काठमाडौँमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा १९ जना प्रदर्शनकारी मारिएका थिए। त्यसपछि भोलिपल्ट देशभरको आगजनीलाई धेरैले प्रतिशोधको प्रतिक्रिया माने पनि The New York Times ले गरेको अनुसन्धानले यो अभियान अत्यन्त संगठित र पूर्वनियोजित हुन सक्ने संकेत दिएको छ।
घटनाको श्रृंखला
स्रोतका अनुसार, सेप्टेम्बर ८ को साँझदेखि नै “तयार सूचीहरू” सामाजिक सञ्जालमा फैलिन थालेका थिए। जसमा भ्रष्टाचारसँग जोडिएका भनिएका व्यक्तिहरूको निजी विवरण उल्लेख गरिएको थियो। भोलिपल्ट दिउँसो ती सूचीका धेरैजना व्यक्तिहरूका घरहरूमा आगो लगाइयो।
काठमाडौँमा संसद, सर्वोच्च अदालत र सिंहदरबारलगायतका सरकारी भवनहरू एकपछि अर्को गरी जलाइए।
१:४५ अपराह्न: भीडले संसद भवनमा प्रवेश गर्यो।
३० मिनेटभित्र: संसद भवनमा आगो लाग्यो।
२:५० अपराह्न: सर्वोच्च अदालतमा आगो।
३:०६ अपराह्न: भीड सिंहदरबार पुग्यो र २० मिनेटमै त्यहाँ पनि आगो बल्यो।
विशेषज्ञहरूका अनुसार यति छोटो समयमा सयौँ भवनमा आगो लगाउन “महिनौँअघिदेखि योजना” आवश्यक पर्छ।
सेना निष्क्रिय, प्रशासन ठप्प
चार जना प्रत्यक्ष स्रोतका अनुसार नेपाली सेनालाई त्यस दिन सडकमा नउत्रन आदेश दिइएको थियो। दंगा प्रहरी संसद वरिपरि मात्रै सक्रिय देखिएको थियो
त्यो दिनकै बेलुका प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकारले ढल्कन थाल्यो। काठमाडौँ र आसपासका क्षेत्रमा मात्र ११० भन्दा बढी प्रहरी कार्यालय जलाइएका थिए। प्रारम्भिक अनुमान अनुसार देशको झण्डै एक तिहाइ अर्थतन्त्र बराबरको क्षति भएको छ।
अनुसन्धान शून्य
काठमाडौँस्थित प्रहरी केन्द्रीय वैज्ञानिक प्रयोगशालाका प्रमुख पवन ढुंगानाका अनुसार हालसम्म कुनै पनि नमुना परीक्षणका लागि ल्याइएन। “यति धेरै ठाउँमा आगो लाग्दा पनि अनुसन्धान नहुनु आफैंमा शंकास्पद छ,” उनले भने, “योजनाबद्ध हुन सक्ने सम्भावना नकार्न सकिँदैन, तर प्रमाण छैन।” फरेन्सिक अधिकारीहरूले भनेका छन् — डेब्रिस परीक्षण, साक्षात्कार र भवन निरीक्षणबिना घटनाको वैज्ञानिक पुनर्निर्माण असम्भव छ। तर प्रहरीले अहिलेसम्म केही पनि सुरुवात गरेको छैन।
रासायनिक प्रयोगको आशंका
धेरैजसो भवनहरूमा आगो अत्यन्त तीव्र रूपमा फैलिएको थियो। विशेषज्ञहरूका अनुसार सोडियम वा म्याग्नेसियमजस्ता विशेष रसायन प्रयोग भएको हुनसक्छ। यी रसायन साधारण रूपमा बजारमा पाइँदैनन् र प्राविधिक ज्ञानबिना प्रयोग गर्न गाह्रो हुन्छ। केही भवनका माथिल्ला झ्यालहरू घटनापूर्व नै खुलेका थिए, जसले हावाको प्रवाह बढाएर आगो छिटो फैलन सहयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।
काठमाडौँ मात्र होइन, देशभरका सहरहरूमा पनि सूचीअनुसार राजनीतिज्ञ र ठूला व्यवसायीका घरमा आगो लगाइयो। साक्षीहरूले भनेका छन् — युवाहरू समूह बनाएर पेट्रोल बम र ग्याँसको सिलिन्डर लिएर आएका थिए। तीन जना युवाले स्वीकृति दिएका छन् कि उनीहरूलाई “अपरिचित ठूला मानिसहरूले” पेट्रोल बम बाँडेका थिए र काम सकिएपछि तलब पाउने बताएका थिए।
सबै दलको क्षति
नेपाली कांग्रेस, माओवादी र एमाले तीनै ठूला दलका नेताका घरहरू जले। तर चौथो र पाँचौँ ठूला दलका नेताहरू भने अछुतो रहँदा शंका अझ बढेको छ। सर्वोच्च अदालतका करिब ६० हजार फाइलहरू समेत जलाइएका थिए।
-न्युयोर्क टाइम्स