नेकपा (माओवादी) का सचिव राम कार्कीले पार्टी ‘मर्मत असम्भव’ अवस्थामा पुगेको भन्दै विघटन गरी नयाँ स्वरूपमा पुनर्निर्माण गर्नुपर्ने धारणा राखेका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्नो विचार राख्दै उनले भने, “अब यी पुराना पार्टीहरूले थेग्न सक्दैनन्, अगाडि बढ्न सक्दैनन्। प्रदेश अध्यक्षहरूको संयोजन समिति बनाएर पार्टीलाई विघटन गरौँ र नयाँ सिराबाट नयाँ पार्टी निर्माण गरौँ।” उनले पार्टी र जनताबीच बढ्दै गएको दूरी अहिलेको असन्तोष र विस्फोटको मूल कारण भएको बताए। “हाम्रा पार्टीहरूले प्रतिनिधित्व गर्ने भनिएको वर्ग र वास्तविक वर्गबीच ठूलो खाडल बनेको छ। यही असन्तोषको इन्धनले अहिलेको विस्फोट निम्त्याएको हो,” उनले स्पष्ट पारे। कार्कीले माओवादी नेतृत्वले जनयुद्धपछिका १५–२० वर्ष उदारवादी र नोकरशाही पुँजीवादी व्यवस्थाभित्र वेलफेयर स्टेट र समाजवादको सपना देखाएर समय गुमाएको आरोप लगाएका छन् । “यो प्रणालीभित्र समाजवाद सम्भव छैन, वेलफेयर स्टेट पनि सम्भव छैन। तर नेतृत्वले नयाँ बाटो लिन सकेन, पुरानो अर्डरमै रमायो,” उनको भने। उनले अहिलेको पार्टीलाई “मर्मत असम्भव” भन्दै नयाँ वैचारिक बहस सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । “अब फेरि लेनिनसँगै बाग्दानोभ, प्यानेकोक, रोजा लक्जेम्बर्ग, ग्राम्सीलाई ल्याएर बहस गरौँ। विगत २० वर्षको अनुभव समीक्षा गरेर नयाँ बाटो अख्तियार गर्नुपर्छ,” उनले सुझाव दिए। जनसेना फेरि बनाउन नसकिने स्वीकार गर्दै कार्कीले वैचारिक र सांस्कृतिक सेना निर्माण गर्नुपर्नेमा जोड दिए। “हामीले शिक्षा प्रणालीलाई छुन सकेनौं, त्यो गल्ती हो। तर अझै वैचारिक र सांस्कृतिक वर्चस्व निर्माण गर्न सकिन्छ,” उनले भने। पार्टीभित्र यथास्थितिवाद हावी भएको टिप्पणी गर्दै उनले भने, “नेतृत्वले पुरानै प्रणालीलाई आफ्नो बनाउन खोज्यो र संरक्षकको भूमिका खेल्दा यसले जनयुद्धको वास्तविक उद्देश्य ओझेलमा पारेको छ।” कार्की अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेका प्रस्तावको विपक्षमा उभिएका छन्। यद्यपि, बाँकी नेताहरूले भने अध्यक्ष प्रचण्डकै प्रतिवेदनको समर्थन गरेका छन्। हालसम्म पदाधिकारीतर्फ नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा र मातृका यादवले समर्थन जनाइसकेका छन्। लुम्बिनी प्रदेश र उपत्यका विशेष प्रदेशको निष्कर्षमा पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ। मंसिरमै महाधिवेशन गर्नुपर्नेमा सबै सहमत छन् भने महाधिवेशनको मिति तोकेर अघि बढ्नुपर्ने सुझाव प्रस्तुत भएको छ। काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आ–आफ्ना प्रस्ताव (डकुमेन्ट) प्रस्तुत गरेका थिए। अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाएर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने प्रतिनिधि सभाको निर्वाचन (फागुन २१) पछि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन्। उनले नेतृत्वको प्रसंगमा प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने र कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव समेत राखेका छन्। त्यसैगरी, उपमहासचिव जनार्दन शर्माले नयाँ टिम ल्याएर हालका पदाधिकारीलाई निर्देशक समितिमा रुपान्तरण गर्ने सुझाव दिएका छन्। तीनै प्रस्तावमाथि समूहगत छलफल जारी रहेको बैठकमा निष्कर्ष तयार भएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गर्ने तयारी छ।
ट्रेनडिंग