धादिङ, ७ असोज। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० स्थित जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।
गएराति खसेको पहिरो पन्छाएर केही समय एकतर्फी सञ्चालनमा आएको सडकमा राति नै पुनः ठूलो पहिरो खसेपछि हाल दुबै तर्फको आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
निरन्तर पहिरो खसिरहेकाले पन्छाउने कार्यमा कठिनाइ भएको बताइएको छ। सडक बन्द भएकाले रातिदेखि नै यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
यसअघि गत शुक्रबार तुइन खोलामा पहिरो खसेर मुग्लिन-नारायणगढ सडकखण्ड करिब ४० घण्टा अवरुद्ध भएको थियो।