काठमाडौँ, २२ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा १० नेपाली विद्यार्थीको निधन भएको घटनाबारे छलफल गर्न अहिले सर्वदलीय बैठक बोलाएका छन् । बिहान ८ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् ।