Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

प्रचण्ड र ओली तयार भए म नेकपा ब्युँताउन तयार छु : माधव नेपाल

काठमाडौँ, २८ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन् । शनिवार भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ तर हामी कतै विलय हुँदैनौं, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौं ।’

उनले कम्युनिस्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताए । एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेरहद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताए ।

उनले ४ वटा पार्टी मिलेर मोर्चा बनाउने तयारी गरिरहेको बताए । अध्यक्ष नेपालले भने, ‘बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैं र प्रवेश हमाल बसेर समाजवादका पक्षमा ४ वटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद्मा आवाज बुलन्द गरौं र सरकारमा बसेर राम्रो काम गरौं भन्ने बारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।’

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.