Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

गुमेको दृष्टि फर्किँदा खुशी

शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि सर्वसाधारणहरू खुशी भएका छन्

यहाँको कुम्मायक गाउँपालिका–५ की नरीमाया चेम्जोङ ७४ वर्ष पुग्नुभयो । शारीरिकरूपमा अशक्त उहाँ राम्रोसँग हिँडडुल गर्न त सक्नुहुन्न थियो नै, उमेर ढल्कँदै जाँदा श्रवणशक्ति कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उहाँका दिन निकै कष्टपूर्ण बने । असाध्यै अप्ठ्यारोमा परे पनि उहाँको सुविधासम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । गाउँमा शल्यक्रियासहितको आँखा शिविर घर नजिकैको यासोक बजारमा आउने सुनेपछि उहाँ छोराको सहयोगले उपचारमा आउनुभयो । शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि नरीमाया खुसी हुनुहुन्छ ।

कुम्मायक गाउँपालिकाको यासोक बजारमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा भेटिनुभएका कुम्मायक–३ का ७२ वर्षीय रघुनाथ चम्लागाईँलाई आँखामा ज्योति फिर्दा नयाँ जीवन पाएजस्तो लागेको छ । वरपरका दृश्य हेर्दै आफ्ना अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “आफ्नै परिवारका मान्छे चिन्न पनि गाह्रो थियो । अहिले निःशुल्क आँखाको शल्यक्रिया भएपछि राम्रोसँग देख्ने भएको छु ।” गुमेको दृष्टि फर्किँदा शरीरमा ऊर्जा थपिएको र हल्का महसुस भएको उहाँको अनुभव छ । घर नजिकैको यासोक बजारमा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुशी हुने चेम्जोङ र चम्लागाईँ प्रतिनिधि पात्रहरु मात्रै हुनुहुन्छ ।

कुम्मायक गाउँपालिका र नेत्रज्योति सङ्घ ताप्लेजुङको सम्झौतापछि आँखा उपचार केन्द्र यासोक बजारमा स्थापना भएको छ । आँखा उपचार केन्द्रको उद्घाटनसँगै आयोजित शिविरमा सेवा लिन पाउँदा ग्रामीण क्षेत्रका सेवाग्राही खुसी भए । उक्त शिविरमा २४ ज्येष्ठ नागरिकको मोतियाविन्दूलगायत आँखाका समस्याको शल्यक्रियासहितको उपचार भएको छ । अन्य २८९ जनाले आँखासम्बन्धी समस्या समाधानका लागि शिविरबाट सेवा लिएका छन् ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

शिविरसँगै यासोकमा स्थापना भएको आँखा उपचार केन्द्रले दैनिक आँखा उपचारको सेवा दिने आँखा उपचार केन्द्र यासोकका प्रमुख वसन्त लिम्बूले जानकारी दिनुभयो । कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्रलाई वार्षिक रु सात लाख बजेट र भवन उपलब्ध गराउने गराएको छ । विशेषत ज्येष्ठ नागरिकले सुविधायुक्त स्थानसम्म पुगेर आँखाको उपचार गराउन नसक्ने देखिएपछि आँखा शिविर सञ्चालन र आँखा उपचार केन्द्र स्थापना गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।

शिविरमा इटहरी आँखा अस्पतालका डा अङ्किता शर्मासहित नौस्वास्थ्यकर्मीको टोलीले जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका आँखाको समस्या भएका बिरामीको निःशुल्क उपचार गरेको थियो । यसक्रममा चश्मा र औषधिसमेत वितरण गरिएको छ । दुई वर्षअघि समेत कुम्मायक गाउँपालिकाले यासोक बजारमा शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार ११० जनाले सेवा पाएका थिए भने ११३ जनालाई शल्यक्रियासहितको सेवा प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष चेम्जोङका अनुसार विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर आयोजनाले रोग पालेर बसेकालाई समेत उपचारमा जान प्रोत्साहित गरिरहेको छ । यो गाउँपालिकाले चार वर्षको अवधिमा पाँचवटा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा करिब दुई हजार सर्वसाधारणले सेवा पाएका छन् । यसरी सेवा लिनेमा कुम्मायकसहित तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.