Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८१, बिहीबार

धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव

पाल्पामा धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव भएको छ

पाल्पामा धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव भएको छ । पाकेको धानबाली काट्नुपर्ने, सुकाउन, पराल र धानबाली छुट्टयाउन अझै परम्परागत रुपमा स्याहार्नुपर्ने बाध्यता छ । प्रविधिको अभावमा जनशक्तिको परिचालन गर्नुपर्ने समस्याले आर्थिकरुपमा बोझिलो समेत बनेको छ ।

आधुनिक प्रविधिको अभावसँगै अर्मपर्म गर्नुपर्छ । अर्मपर्म गर्दा आर्थिकरुपमा बोझिलो हुँदा उत्पादनअनुसार प्रतिफल प्राप्तिमा समस्या हुन्छ । सरकारको सहयोगमा अभावमा अझै पनि परम्परागत शैलीमा उत्पादन गर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।

तानसेन नगरपालिका–१४ अर्गलीकी विमला सुनार चार रोपनी खेतमा धानबाली उत्पादन गर्नुहुन्छ । दसैँ तिहार सकिएपछि किसान पाकेको धानबाली घरमा भित्र्याउने चटारोमा छन् । धानबाली स्याहार्न आधुनिक मेसिनको अभावले खेताला परिचान गरी किसानले धानबाली काट्न, सुकाउन, पराल र धान छुटाउन अझै परम्परागत शैली अपनाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

त्यसैले आधुनिक मेसिनको अभाव भएपछि यहाँका महिलाले एकापसमा सहयोगी भावनाका साथ अर्मपर्म गरी अन्नबाली भित्र्याउने चलन अझै कायम नै रहेको स्थानीय लक्ष्मी श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार परम्परागत शैलीमा धानबाली स्याहार्न बढी खर्चिलो हुन गरेको छ । सोही स्थानकी पार्वती भट्टराईका अनुसार आधुनिक रुपमा धानबाली उत्पादन प्रणालीको प्रयोग हुन सकेको अवस्थामा उत्पादन वृद्धि र काम गर्न सहज हुने छ । परम्परागत उत्पादन प्रणालीमा मानवीय जनशक्तिको प्रयोग गर्दा मेहनत र खर्च बढी हुन्छ । कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य छ तर, सरकारको लक्ष्यअनुसार पाल्पाका ग्रामीण क्षेत्रमा आधुनिक मेसिनको प्रयोग धानबाली काट्न देखिएको छैन ।

साना खेतका गह्रा भएकाले ठूला मेसिनको अभावले किसानले अझै परम्परागत शैलीमा काम गर्न बाध्य बनेका छन् । कृषि उत्पादनमा यान्त्रीकरणले काम छिटोछरितो रुपमा सम्पादन गर्न सहजता र उत्पादनमा वृद्धि ल्याएको छ । किसानको मागका आधारमा अनुदानमा आधुनिक कृषि यान्त्रीकरण, बीउलगायतका क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्दै आएको तानसेन नगरपालिका–१४ का वडाध्यक्ष कमल रानाले बताउनुभयो ।

स्थानीय सरकारले कृषि उत्पादन वृद्धि गर्न हाते ट्याक्टर, खाडल खन्ने मेसिन, घाँस काट्ने मेसिनलगायतको सहयोग गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । जिल्लामा आठ हजार ८४० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

बेमौसमी वर्षाले पाल्पामा रु तीन करोड ४० लाख बराबरको धानबाली क्षति भएको छ । कात्तिकमा परेको वर्षाको कारण तिनाउ गाउँपालिकामा धानबाली बढी मात्रामा क्षति भएको हो । सो क्षेत्रमा चार सय १५ किसानको दुई हजार ४७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ ।

एक हजार २७६ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १३ हजार ९२१ क्विन्टल धान नोक्सानी भएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.