Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई

बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ

बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराउँदै उपाधि चुमेको हो ।

उपाधिसँगै शुसितमले रु ७७ हजार ७७७ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलपालले रु ३३ हजार ३३३ पाएको छ । शुसितमले १२५ रनको लक्ष्य दिएपनि कैलपाल १७ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । कैलपालका लागि हरि ओझाले अविजित ३७ रनको योगदान दिनुभयो । कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले चार तथा जनक कार्कीले तीन विकेट लिनुभयो । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल हुनुभयो ।

त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि जनकसिंह कार्कीले सर्वाधिक ४४ रन बनाउनुभयो । बलिङतर्फ कैलपालका गोविन्द चन्दले तीन विकेट लिनुभयो ।

यो पनि पढनुस !!

यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत १२५ रन र सात विकेट लिनुभएका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज हुनुभयो । उहाँले रु पाँच हजार ५५५ पुरस्कार प्राप्त गर्नुभयो । शुसितमका लागि १३४ रन बनाउनुभएका सन्तोष कार्की उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । शुसितमका लागि १६ विकेट लिनुभएका किरन कार्की उत्कृष्ट बलर हुनुभयो । दुवैले समान रु तीन हजार ३३३ पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका विजेता र उपविजेता टोली तथा खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गर्नुभयो । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा बैतडी र दार्चुलाका १२ टोली सहभागी थिए । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.