Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो । दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।”

संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन ।” आफूहरुले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उहाँले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोसरूपमा प्रगति हुन नसकेको बताउनुभयो ।

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बौँ लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उहाँको भनाइ थियो । क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको सन्दर्भमा उहाँले भन्नुभयो, “क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव छैन ।”

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

भरतपुर अस्पताल केन्द्रीय अस्पताल भए पनि दरबन्दी र भौतिक पूर्वाधारमा काम हुन नसकेकाले अब यस अस्पताललाई पनि एकीकृत प्रतिष्ठानभित्र राखेर सुविधासम्पन्न र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो । नेपाल आफैँले कोरानाविरुद्धको खोप उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै खोप उत्पादन हुनुपर्छ, चितवनमा भए अझ राम्रो ।”

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकरी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल चिकित्सक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा अनिलविक्रम कार्की, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, डा कृष्णसागर शर्मा, डा मधु न्यौपाने, डा आविस्कार चापागाईँलगायतले स्वास्थ्य क्षेत्रका समस्याबारेमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई अवगत गराउनुभएको थियो ।

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष नीरा अधिकारीको अध्यक्षतामा भएको थियो । चार दिनदेखि अध्यक्ष दाहाल गृह जिल्ला चितवनमा हुनुहुन्छ । उहाँ जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.