Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

मादीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

गाउँपालिकाको रु ३७ लाख र पहार ट्रष्ट नेपालको रु २६ लाख गरी रु ६३ लाख लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको वडाध्यक्ष लालबहादुर गुरुङले बताउनुभयो

मादी गाउँपालिका–७ छाचोकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ३७ लाख र पहार ट्रष्ट नेपालको रु २६ लाख गरी रु ६३ लाख लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको वडाध्यक्ष लालबहादुर गुरुङले बताउनुभयो ।

नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमबीच साँचो हस्तान्तरण गरी सेवा सुरु गरिएको औपचारिक घोषणा गरिएको थियो । सो स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, औषधि वितरण, गर्भवती तथा बच्चाको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङलगायत सेवा उपलब्ध गराइने बताइएको छ । एकतले नवनिर्मित भवनमा सात कोठा छन् । सो केन्द्रमा हाल तीन स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जनाइएको छ ।

गाउँपालिकाले सोही वडाको तल्लो छाचोक (खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा अस्पताल भवन निर्माण प्रक्रिया सुरु गरेको छ । सो अस्पताल सञ्चालनमा नआउञ्जेलसम्म आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आवश्यक उपचार सेवा दिने योजना रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक पालिका एक अस्पताल निर्माण गर्ने सरकारको योजनाअनुसार मादीको माथिल्लो भेगलाई लक्ष्य गरी गाउँपालिकाले पालिकास्तरीय सुविधासम्पन्न अस्पताल निर्माणको काम सुरु गरेको छ, सो अस्पताल निर्माण सम्पन्न हुनुअघि अहिलेको आधारभूत स्वास्थ्य केन्द्रबाट सम्भव हुनेसम्मको सेवा प्रदान गछौँ ।”

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

मादी–७ सहित उत्तरी भेगका वडा नं १, २, ३, ४ र ६ का नागरिकले आधारभूत सेवा केन्द्रबाट सेवा प्राप्त गर्नेछन् । गाउँपालिकाले पालिकास्तरीय अस्पताल निर्माणका लागि रु १९ करोड लागत अनुमान गरी बोलपत्र आह्वान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । भवनको साँचो हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले मादीका सबै नागरिकलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम अघि बढाइएको बताउनुभयो ।

मादीको तल्लो भेगका नागरिकका लागि थुम्सीकोटमा प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरिएको र पालिकास्तरीय अस्पताल निर्माणपछि माथिल्लो भेगका नागरिकसमेत स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा भवन निर्माणको साझेदार संस्था प्रहार ट्रष्टका बिजुलीबहादुर गुरुङ, परियोजना प्रबन्धक टेकबहादुर रानामगर, निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङलगायतले आधारभूत स्वास्थ्य केन्द्रबाट प्रभावकारी सेवा प्रवाह हुने रट नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.